२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

आगो ताप्न जाने उपयोगी नजाने काल, जोखिममा बालबालिका र वृद्ध


१ पुस, काठमाडौं पुस लाग्यो । चिसो बढ्यो । यसको असर बालबालिका र ज्येष्ठ नागरिकलाई बढी परेको छ । जाडो बढेसँगै न्यानोका लागि हिटर, दाउरा, भुस, ब्रिकेट तथा कोइला बाल्ने गरिए पनि सजग नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

कोठा न्यानो बनाउने निहुँमा कृत्रिम तातोले ज्यानैसम्म जाने सम्भावना रहन्छ । चिसोको मौसम सुरु भएसँगै निसास्सिएर मृत्यु भएका खबरहरु आइरहँदा पनि यसतर्फ सचेतनाको खाँचो अझै खड्किएको मान्न सकिन्छ । कोठा न्यानो बनाउने सोचले अक्सिजनको अभावमा निसास्सिएर अकालमै ज्यान गुमाउने बर्सेनि बढिरहेको तथ्यांक छ ।

२ दिनअघि मात्र कीर्तिपुरको सुन्दरबजारमा कोठा तताउन कोइला बालेर सुतेका आमा-छोराको मृत्यु भएको छ । स्थानीय नवराज रञ्जितकारकी पत्नी शर्मिला र २ महिनाका छोराको निसास्सिएर ज्यान गएको हो । सुत्केरी र शिशुलाई साँझ कोइलाको रापमा सेकाइसकेपछि कोठा तताउन मकलमा कोइला बालेर सुत्दा निसास्सिएर ज्यान गएको हो ।

यस्ता घटना प्रत्येक वर्ष भइरहे पनि सर्वसाधारणको हेलचेक्र्याइँ भने कम नभएको प्रहरीको भनाइ छ । कोठामा आगो बाल्ने र तातो हुन्छ भन्दै झ्यालढोका थुनेर सुत्दा अकालमै ज्यान जाने गरेको हो ।

धूवाँले निसास्सिएर मृत्युका घटना सँगै आगालागीको जोखिमसमेत उत्तिकै हुने गरेको छ । उचित तरिकाले आगोको प्रयोग गर्न सके जीवन उपयोगी, नजाने काल हुने गरेको जान्दा-जान्दै पनि कोठा तताउने भन्दै दाउरा, कोइला, गुइँठा, ब्रिकेट र भुस (काठको धुलो) आदि बाल्ने गरिएको छ ।

केहीले मट्टितेल, ग्यास र बिजुली हिटर पनि बाल्ने गरेका छन् । तुलनात्मक रुपमा यो कम जोखिमको भए पनि आगलागीको सम्भावना धेरै देखिन्छ ।

कोठा तताउने बेलामा झ्यालढोका खुला राख्नुपर्ने र सुत्नेबेला निभाउनुपर्ने हुन्छ । आगो बालेरै सुत्दा कोठाभित्र अक्सिजनको मात्रा कम हुने र मानिसको ज्यानै जाने जोखिम भने धेरै हुन्छ । कोठामा बालिएको आगोले रक्तअल्पता, मुटु, श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरू चाँडै प्रभावित हुन्छन् ।

कोठामा आगो बालेर तताउनु स्वास्थ्यका लागि हानिकारक त छ नै । मृत्युको जोखिम पनि धेरै छ । बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्छन् । अर्कोतर्फ चिसोले सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकामा निमोनियाँ, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मियालगायतको संक्रमणको सम्भावना धेरै हुने भएकाले जोगाउन चिकित्सकहरुको सुझाव छ ।

चिसो मौसममा सबैले न्यानो भएर बस्ने, ताता कपडा लगाउने, तथा तातो झोलिलो खानेकुरा खाने गर्नुपर्छ । उपत्यकामा भन्दा तराईमा जाडोसँगै शीतलहरसमेत पर्ने हुँदा तराईमा बसोबास गर्नेले जाडो तथा शीतलहरबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रकाशित मिति : १ पुष २०७६, मंगलवार ०८:३१