२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

एकाएक बढेको प्याजको भाउ किन सस्तियो ?


२८ मंसिर, काठमाडौं चिनियाँ प्याज भित्रिएसँगै नेपाली बजारमा प्याजको भाउ पनि घट्दो क्रममा छ । पछिल्लो समय राजधानीका बासिन्दाले चिनियाँ प्याज खान थालेसँगै भाउ पनि ओरालो लागेको हो ।

भारतबाट आउने प्याज अहिले चीनबाट आयात हुन थालेसँगै उपत्यकावासीको माग पनि यसैले धानेको अवस्था छ । गत असोजमै भारतले प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै नेपाली बजारमा भाउ एकाएक आकासिएको थियो । भारतबाट प्याज आयात नहुँदा व्यापारीहरुले आफूखुसी प्याजको भाउ बढाउँदा नेपाली उपभोक्ता मारमा परेका थिए । पछि चीनबाट आयात भएको प्याज उपभोगसँगै भाउ पनि सस्तिएको उपत्यकावासीको अनुभव छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०-४५ टन प्याज चीनबाटै आउन थालेको छ । अघिल्लो सातासम्म भारतबाट दैनिक ४५-५० टन प्याज आएकोमा अहिले चीनबाट भित्रने परिमाण बढेको छ । योसँगै आकासिएको प्याजको भाउ सस्तो भएको हो ।

समितिका अनुसार भारतको प्याज आउँदासम्म प्रतिकेजी १८० रुपैयाँमा कारोबार भएकोमा अहिले चीनबाट आएको प्याज १४० रुपैयाँमा झरेको छ । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा ५ सय प्रतिशतले महँगो भएको छ ।

हुन त नेपालमा खपत हुनेमध्ये जम्मा २ प्रतिशत मात्रै प्याज यहीँ उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत भारतबाटै आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीले यसको मौका छोपेर मनपरी भाउमा बिक्री गर्ने गरेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार ०८:४०