१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

विद्युत् आयोजनाको प्रगति दर उच्च


२७ मंसिर, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजनामा वित्तीय प्रगति १०१.५२ प्रतिशत र भौतिक प्रगति लक्ष्यको ८६ प्रतिशत गरेको छ । चालू आव ०७६/७७ को पहिलो ४ महिनामा १३ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य राखिएकामा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ठेक्का सम्झौता भएका आयोजनालाई दिइएको अग्रिम भुक्तानी र बहुवर्षीय ठेक्काका आयोजनाको गत सालको बाँकी भुक्तानीले गर्दा वित्तीय प्रगति बढी भएको बताए ।

घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, जग्गा अधिग्रहणलगायतमा देखिएका समस्या समाधानमा सबै क्षेत्रबाट सहयोग भएकाले आवको बाँकी अवधिमा निर्माणाधीन आयोजनाको प्रगति अझै बढ्नेसमेत दाबी गरे । प्राधिकरणले चालू आवमा सरकारी स्रोतबाट १० अर्ब ३१ करोड र वैदेशिक ऋण तथा अनुदानबाट ४५ अर्ब ३० करोड गरी ५५ अर्ब ६१ करोड रुपैयाँ बजेट पाएको खबर गोरखापत्र दैनिकमा छ । सरकारको स्रोतबाट दिइने रकम कम र वैदेशिक सहायताबाट प्राप्त रकमको हिस्सा बढी हुँदा बजेट कार्यान्वयनमा भने जटिलता देखिएको घिसिङले बताए ।

विभिन्न कारणले रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालू आवको पहिलो चौमासिकमा निर्माण सम्पन्न भई ७४ मेगावाट विद्युत् थप उत्पादन सुरु भएको छ ।

यसैगरी, रुग्ण बनेको काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि यही अवधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । उत्पादनतर्फ समीक्षा अवधिमा चार अर्ब ४२ करोड खर्च गर्ने लक्ष्य राखिएकोमा तीन अर्ब ३३ करोड रुपियाँ खर्च भएको छ ।

समीक्षा अवधिमा प्रसारण लाइनतर्फ छ आयोजनाको एक सय ९३ सर्किट किमि लाइन निर्माण सम्पन्न भएको छ । यस अवधिमा ७ नयाँ सब-स्टेसन निर्माण भएको बताइएको छ । ८ वटाको स्तरोन्नति गरिएको छ । विद्युत् प्रसारण र वितरण लाइनतर्फ क्रमश: ७ अर्ब ८० करोड र १ अर्ब ९१ करोड विनियोजन गरिएकोमा पहिलो चौमासिकमा क्रमशः ३ अर्ब ४६ करोड र ४ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ । प्रसारण लाइनतर्फको खर्च र भौतिक प्रतिशत क्रमशः ४४.७४ र ५३ रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार ०६:५९