१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१३औं साग समापनमा प्रधानमन्त्री ओलीको भिडियो सम्बोधन


२४ मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज समापन हुँदै छ । मंसिर १५ देखि सुरु भएको सागलाई नेपालमा उत्सवकै रुपमा समापन गरिँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सागको समापन समारोहलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । स्वास्थ्यले साथ नदिँदा ओली समापन समारोहस्थल दशरथ रंगशाला नपुगेरै प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा साग मूल आयोजक कमिटी सदस्य-सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

सिलवालका अनुसार प्रधानमन्त्री ओलीले भोलि (बुधबार) राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रमसमेत छ । ‘प्रधानमन्त्रीले बुधबार खेलकुदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी छ । खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ,’ उनले भने । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको सिलवालको भनाइ छ । सदस्य-सचिव सिलवालले साग आयोजनाबाट आफू पूर्ण सन्तुष्ट रहेको र मूल्यांकन गर्ने जिम्मा अरुको भएको हिजो (सोमबार) राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए ।

आज सागको समापनअघि नेपाल-भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि भिडन्त हुनेछ । आज भुटानी समर्थकका लागि छुट्टै बस्ने व्यवस्था मिलाइएको छ । समापन समारोहमा दर्शकका लागि नेपाली सेनाको गेटबाट मात्र प्रवेशको व्यस्था मिलाइएको छ ।

यसैबीच आजै दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबलसमेत हुनेछ । समापन समारोह झन्डै डेढ घण्टाको हुनेछ । समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एसिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य-सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ । साथै समारोहमा आगामी १४औं साग संस्करणको आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ ।

आज १३औं सागको समापन : उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन पाइने

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०७:०४