१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज १३औं सागको समापन : उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन पाइने


प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने !

२४ मंसिर, काठमाडौं आज (मंगलबार) १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) समापन हुँदै छ । मंसिर १५ देखि सुरु भएको सागलाई नेपालमा उत्सवकै रुपमा समापन गरिँदै छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज (मंगलबार) ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरेको छ । यसको मतलब आज जोर नम्बर भएका सवारीसाधन मात्र उपत्यकाका रिङरोड क्षेत्रभित्र गुड्न पाउने छन् । बिजोर नम्बर भएका सवारीसाधन भने गुड्न पाउने छैनन् ।

प्रतिकात्मक तस्बिर ।

साग उद्घाटनका दिन बिजोर नम्बरका सवारीसाधनलाई मात्र चल्न दिइएको थियो । यद्यपि महाशाखाका अनुसार अत्यावश्यक सवारीसाधन, एम्बुलेन्स, दमकल तथा प्रेसका सवारीसाधनलाई भने निर्वाध चल्न दिइनेछ ।

साथै ट्राफिक प्रहरीले ठूला मालवाहक सवारीसाधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि आग्रह गरेको छ । दशरथ रंगशालामा समापनको कार्यक्रम हुने भएकाले सकभर त्यसआसपासको सडक प्रयोग नगर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

समापनका बेला रंगशालामा हुने कार्यक्रम हेर्न आउनेको सवारीसाधन टुँडिखेलमा पार्किङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी छ । जसलाई अहिलेसम्मकै ठूलो घोषणा हुने आकलन गर्न सकिन्छ । साग समापनका लागि आफैं उपस्थित हुन नसके पनि भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने तयारी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ०६:१७