Logo

नेपालगन्ज विमानस्थल : दोब्बर ठूलो बनाउने तयारी



१४ मंसिर, नेपालगन्ज  नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोहीअनुसार काम सुरु गरिएको छ । विमानस्थलबाट सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

ठूला बोइङ र जेट विमानसमेत उड्न मिल्ने गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा आइसकेको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

४ चरणमा तयार गरिने सो विमानस्थलको निर्माणका लागि साढे १२ अर्ब रुपैयाँ खर्च हुने गोरखापत्र दैनिकमा खबर छ । ‘सबै चरणका काम अन्तरसम्बन्धित भएकाले एकैसाथ सुरु गरिएका छन् । निर्धारित समयमा विमानस्थल तयार गर्ने लक्ष्य छ,’  ठाकुरले भने ।

नेपालगन्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजनालाई गत साता मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको थियो । हाल एटीआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी २ दशकभित्र एयरबस, बोइङ र जेटजस्ता ठूला विमान पनि उडाउन मिल्ने बताइएको छ ।

गुरुयोजना अनुसार विमानस्थलको धावनमार्ग हालको रनवे ३ सी श्रेणीको अर्थात् १ हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा २ हजार ४४५ मिटर लामो बनाइनेछ । त्यसो गर्दा एयरबस ३२० एनइओ मोडेलका ठूला जेट विमान सहजै उडान गर्न सक्ने विमानस्थल तयार हुनेछ ।

नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा विमानस्थलका लागि सय बिघा जग्गा थप गर्नुपर्नेछ । हाल १६६ बिघा रहेको विमानस्थलका लागि थप सय बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ ।

योजनाअनुसार विमानस्थलको निर्माण चार चरणमा पूरा गरिनेछ । पहिलो र दोस्रो चरणको काम अहिले सुरु गरिसकिएका छन् । पहिलो चरणमा रनवे विस्तार, टर्मिनल भवनलगायत काम गर्न जग्गा अधिग्रहणको काम गरिने भएकाले सोका लागि प्रक्रिया सुरु गरिसकिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । सो चरणमा तीन अर्ब ५० करोडभन्दा बढी बजेट खर्च गरिनेछ ।

गुरुयोजनामा दोस्रो चरणका लागि सन् २०२५ भित्र २ अर्ब ८ करोड लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटिएका छन् ।

तेस्रो र चौथो चरणको कामले नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिने छ । जसमा ७ अर्ब ४० करोड खर्च हुने अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।

दैनिक सरदर ४० उडान हुँदै आएको नेपालगन्ज विमानस्थलबाट अहिले करिब १ हजार १ सय यात्रु दैनिक उड्ने गरेका छन् । पश्चिम नेपालका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ गरेर ३ प्रदेशलाई प्रत्यक्ष रूपमा एक अर्कासँग जोड्नुका साथै संघीय राजधानीसँग पनि जोड्ने कार्य गर्दै आएको छ । बाँकेका पर्यटन व्यवसायी भीमलाल कँडेलले विमानस्थलको स्तरोन्नति गर्ने कार्य गुरुयोजनाअनुसारै निर्धारित समयमा पूरा गराउन सकिए यो क्षेत्रले विकासमा ठूलो फड्को मार्ने बताए ।

 

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ०६:३५
प्रतिक्रिया दिनुहोस्