१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एकै बाबुआमाका सातै छोराछोरी फौजमा !


७ मंसिर, डोटी । एकै बाबुआमाका सात छोराछोरी सरकारी कमर्चारी ? त्यसमा पनि सबै सुरक्षा निकायमा ? पत्याउनै मुस्किल हुन्छ । तर, यो यथार्थ हो ।

सुदूरपश्चिम प्रदेशअन्तर्गतको डोटीको केआई सिंह गाउँपालिका ६ का प्रेमराज र वासुदेवी जैसीका ७ छोराछोरी छन् । ६ छोरा र एक छोरी । उनीहरू सबै सुरक्षा निकायमा भर्ती भए । जैसी परिवारलाई फौजी जागिरले यसरी छोयो कि एकपछि अर्को गरी सबै त्यहीँ भर्ती भए । एक जनाले अवकाश लिने र अर्को भर्ती हुने क्रमले २०७३ सालसम्म निरन्तरता पायो ।

जैसी दम्पत्तीकाका ५ छोरा र एक छोरी नेपाली सेनामा भर्ती भए भने एक सशस्त्र प्रहरी बलमा । ७ सन्तानमध्ये सेनामा कार्यरत दुई जनाले अवकाश जीवन बिताइरहेको राजधानी दैनिकमा समाचार छ ।

जेठा छोरा टीकाराम र माइला धर्मराज २०५४ मा सेनाको सैनिक पदमा भर्ना भएका थिए । उनीहरू दुवैले अहिले अवकाश जीवन बिताइरहेका छन् । टीकारामले २०७१ र धर्मराजले २०७० मा अवकाश लिए । २ छोराले अवकाश लिएको केही समयमै एकमात्र छोरी सरिताकुमारी २०७२ मा सेनामै प्रवेश गरिन् । कान्छा छोरा हरीश पनि २०७३ मा सेनामा प्रवेश गरे ।

साइँला छोरा सहदेव भने २०५९ मा सशस्त्र द्वन्द्वका बेला सशस्त्र प्रहरी बलमा भर्ती भए । उनीमुनिका सबैले सेना रोजे । सहदेवपछिका छविलाल २०६१ र उनीपछिका भाई भोजराज २०६८ मा सेनामा भर्ती भए ।

साइँला सहदेव अहिले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा वरिष्ठ हवल्दार पदमा कार्यरत छन् । ७ दाजु-भाइ-बहिनीमा यो तहमा पुग्ने उनी मात्रै हुन् । विकट डोटी जिल्लामा जन्मेका उनी मिलनसार र हँसिलो स्वभावका मात्रै छैनन्, सहयोगी र रसिक पनि छन् । ठट्यौली भावमा उनी भन्छन्, ‘सात सन्तान फौजी भए पनि सबैभन्दा ठूलो पदमा पुग्ने मै नै हुँ ।’

आफूभन्दा धेरै सानी बहिनीले पनि फौजी जीवन नै रोजेकोमा सहदेव खुसी छन् । ‘हामी दाजुभाइको फौजी जीवन देखेर परिवारकी एक्ली बहिनी सरिता पनि सेनामा भर्ती भइन् । यो हामी सबैको लागि खुसीको विषय हो । उनी नेपाली सेनामा जवान पदमा छिन्,’ सहदेव गर्व साथ भन्छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार ०८:०९