Logo

प्रदेशका हरेक घर अभावरहित हुनुपर्छः मुख्यमन्त्री पौडेल



६ मंसिर, हेटाैँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक घर अभावरहित हुनुपर्ने बताउनुभएको छ । उहाँले नागरिकलाई खुशी बनाई समृद्धिको यात्रा तय गरिने उल्लेख गर्नुभयो । मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे–इपा क्षेत्रको अनुगमन भ्रमणपछि स्थानीयवासीसँग आज कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकार हरेक नेपालीको मुहारमा मुस्कान ल्याउन उद्यत रहेको बताउनुभयो । उहाँले प्रदेशका हरेक घरमा खानेपानीको धारो हुनुपर्ने तथा हरेक घरमा बिजुली जोडिनुपर्ने उल्लेख गर्नुभयो । “हरेक घरका बालबालिकाले पढ्ने वातावरण पाउनुर्प”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकासका कुनै पनि पूर्वाधारबाट कसैलाई पनि बञ्चित गर्न नहुने धारणा राख्नुभयो । उहाँले सरकारले जिल्लाको विकासमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उल्लेख गर्नुभयो । डेढ वर्षभित्र हेटौँडामा चिकित्साशास्त्रको अध्ययन सञ्चालन गर्ने गरी शिक्षण अस्पतालको शुरुआत भइसकेको, प्रतिवर्ष दुई हजार ५०० प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक महाविद्यालय निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

“कृषि उत्पादन वृद्धि गर्न सरकारले सिँचाइ, मलखाद, बीउ बिजन आदिको उचित व्यवस्थापन गर्नेछ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । पशुपालन, तरकारी खेतीजस्ता रोजगारमूलक कृषिका लागि अनुदान उपलब्ध गराउनुका साथै उत्पादित कृषिउपजको भण्डारणका लागि शीतभण्डार निर्माण र बजारीकरणको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले सङ्घीयतापछि स्थानीय तहको निर्वाचन र प्रदेश सरकारको गठनपछि जिल्लाका विकट क्षेत्र पनि विकासको मूलधारमा समाहित भएको उल्लेख गर्नुभयो । उहाँले सरकारको योजनामा स्थानीय चासो र चिन्ता आवश्यक रहेको बताउनुभयो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँपालिकाका कुनै पनि कुनालाई विकासले सुगम बनाइने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारको साथ रहे गाउँपालिकालाई समृद्ध बनाउन सम्भव रहेको धारणा राख्नुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार १७:४९
प्रतिक्रिया दिनुहोस्