१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउँदै


६ मंसिर, काठमाडौं । नेपाल र चीनबीचको मित्रताको प्रतीक प्रस्तावित केरुङ-काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्चस्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनपिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी पत्र (एमओयू) अनुसार केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारका क्रममा चिनियाँ टोली आउन लागेको हो ।

चिनियाँ टोली मंसिर ९ गते नेपाल आउनेछन् । १० गते काठमाडौंमा नेपाली र चिनियाँ टोलीको बैठक बसी प्रस्तावित रेलमार्गको ‘डीपीआर’ निर्माणलगायत विषयमा छलफल हुने गोरखापत्र दैनिकमा खबर छ । महाशाखाका अनुसार नेसनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासकको नेतृत्वमा २० सदस्यीय उच्च स्तरीय टोली काठमाडौँ आउन लागेको हो ।

केरुङ-काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसकेको छ । चिनियाँ टोलीसँगको बैठकमा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको संयोजकत्वमा १५ सदस्यीय उच्चस्तरीय टोली गठन गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार ०७:२६