१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु


३ मङ्सिर, चितवन। त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ । पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो । क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार २४ विद्यार्थीलाई आइतबारबाट पठनपाठन शुरुआत गरिएको हो । तीमध्ये छ जना नियमित र १८ जना पूर्ण शुल्कीय हुन् । नियमितले पाँच वर्षमा रु ५० हजार र पूर्ण शुल्कीयले रु चार लाख हाराहारी तिर्नुपर्ने हुन्छ । यो त्रिविको इञ्जिनीयरिङ अध्ययन संस्थानको पाँचौँ क्याम्पस हो ।

यसअघि यस संस्थानअन्तर्गत ललितपुरको पुलचोक, काठमाडौँको थापाथली, पूर्वाञ्चलको धरान र पश्चिमाञ्चलको पोखरामा इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ । रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । पौडेलका अनुसार सिभिल, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, एप्लाइड साइन्स र इलेक्ट्रिकल इञ्जिनीयरिङ प्रस्तावित थप कार्यक्रम रहेका छन् । पौडेलले सरकारले बजेट र शिक्षक कर्मचारी दरबन्दी उपलब्ध गराएमा आउँदो शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो ।

भरतपुर महानगरपालिका र निवर्तमान उपकुलपति तीर्थ खनियाँको पहलमा यसै शैक्षिक सत्रबाट पढाइ शुरु गरिएको हो । रामपुरमा त्रिविले खेलकूदका लागि बनाएको पुरानो भवनमा क्याम्पस शुरु गरिएको हो । रामपुरबाट कृषि विषय हटेपछि त्रिविले त्यहाँ इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्न गृहकार्य गरिरहेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार १३:०३