१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

३ मंसिर, ताप्लेजुङ ताप्लेजुङस्थित तमोर नदी जलयात्राका लागि आकर्षक गन्तव्य बनेको छ । अहिले र्‍याफ्टिङको सिजन सुरु भएसँगै तमोरमा जलयात्राका लागि पर्यटकको आगमन बढ्दै गएको छ ।

नेपालमा रहेका र्‍याफ्टिङ कम्पनीको सम्पर्कमा विदेशी पर्यटक आएर तमोरमा जलयात्रा गर्ने गरेका छन् । कात्तिकयता तमोर नदीमा जलयात्रा गर्न विभिन्न देशका पर्यटक आउन थालेको गोरखापत्र दैनिकले खबर प्रकाशन गरेको छ । इलाका प्रहरी कार्यालय चाँगे दोभानका अनुसार गत कात्तिक ५ गते पाँच विदेशीसहित पहिलो टोली आएर तमोरमा र्‍याफ्टिङ गरेका थिए । त्यसपछि क्रमशः कात्तिक ११ गते चार जना, कात्तिक १६ गते आठ जना विदेशीसहित पर्यटकको टोलीले जलयात्रा गरेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले जानकारी दिए ।

प्रहरी निरीक्षक निरौलाका अनुसार चौथोपटक कात्तिक २७ गते ३० जना विदेशीसहितको टोलीले तमोरमा जलयात्रा गरेको छ । काठमाडौँको र्‍याफ्टिङ स्टार कम्पनीमार्फत ६ जना जापानका पर्यटकसहितको टोलीले र्‍याफ्टिङ गरेका छन् । सोही दिन अल्टिमेट रिभर कम्पनीमार्फत स्पेन, फ्रान्स र इटालीका समेत २४ विदेशीसहितको टोलीले जलयात्रा गरे ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ५, चाँगे र मेरिङ्देन गाउँपालिका ३, खाम्लुङको सङ्गमस्थल दोभानबाट जलयात्रा सुरु गरी पर्यटक धनकुटाको मूलघाट हुँदै सुनसरी धरानको चतारा निस्कने गरेका छन् । तमोर मैवा दोभानबाट सुरु हुने जलयात्राका लागि ताप्लेजुङ क्षेत्र अर्थात फूलबारी पुछारसम्म बढी छाल भएकाले केही असजिलो भए पनि बाँकी चतारासम्मको जलयात्रा सहज रहेको र्‍याफ्टिङ स्टार कम्पनीका गाइड सुरेशकुमार चौधरीले बताए ।

उनका अनुसार जलयात्राका लागि सुरुको एक दिन केही अप्ठ्यारो भए पनि स्वच्छ र सफा पानी साथै रमणीय दृश्यका कारण पछिल्लो समय विदेशी पर्यटक र्‍याफ्टिङ गर्न तमोरलाई रुचाउन थालेका छन् । विदेशी पर्यटकको रुचिसँगै प्रतिव्यक्ति १ हजार २ सय डलर (नेपाली करिब एक लाख ९८ हजार रुपैयाँ) असुल गरी काठमाडौँबाट ताप्लेजुङसम्म ल्याएर पर्यटकलाई तमोर नदीमा जलयात्रा गराउने गरेको चौधरीले बताए । उनका अनुसार दोभानबाट सुरु भएको जलयात्रा काबेली दोभान, माझीटार, मूलघाट हुँदै पाँच दिनमा चतारा पुगेर टुंगिनेछ ।

विदेशी पर्यटक तमोरमा जलयात्रा गर्न ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल तीनजुरे-मिल्के-जलजले (टीएमजे) हुँदै आउने गरेका छन् । गुराँसको राजधानीका नामले परिचित पर्यटकीय क्षेत्र टीएमजे हुँदै पदयात्राका क्रममा उच्च हिमशृङ्खला, हिमाली घाँसे मैदानलगायत मनोरम पर्यटकीय स्थलको दृश्यावलोकनसमेत गर्न पाइने हुँदा तमोर नदी आकर्षक जलयात्राको गन्तव्य बन्दै गएको र्‍याफ्टिङ व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०७:२७