१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

२२ हजार विद्यार्थीले लिए सेवा


३० कात्तिक, बनेपा । काभ्रेका ७ स्थानीय तहका सामुदायिक विद्यालयका करिब २२ हजार ६ विद्यार्थीले इएर केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कानको उपचार र त्यसबाट हुनसक्ने सम्भावित समस्याबाट मुक्त हुने विषयमा उपचार तथा परामर्श सेवा लिएका छन् ।

सो संस्थाले स्थानीय तहसँगको समन्वयमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा रोखर १८ महिनादेखि सञ्चालन गरिएको अभियानमा ती विद्यार्थीको कानको उपचार गरी सहयोग गरेको संस्थाका अध्यक्ष डा. मिलन महर्जनले बताए । ‘बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, मन्डनदेउपुर नगरपालिका र तेमाल गाउँपालिका गरी १३० विद्यालयका २२ हजार ६ विद्यार्थीको कान जाँच गरिएकामा २ हजार ८१ विद्यार्थीमा समस्या देखिएको छ, २ सय ९८ जनाको कान शल्यक्रिया गर्नुपर्नेमा २ सय ३ जनाको शल्यक्रिया गरेका छौँ,’ महर्जनले भने ।

संस्थाका अध्यक्ष महर्जनका अनुसार उपचार निःशुल्क गरिएको हो । बढीजसो गाउँबाट सहरमा विभिन्न पेसा-व्यवसाय गरी बस्ने निम्नवर्गका परिवारका छोराछोरीहरुमा कानको समस्या भएको पाइएको डा. महर्जनले बताए ।

शल्यक्रिया गर्न बाँकी करिब सय विद्यार्थी सम्पर्कमा आए शल्यक्रियामा सहयोग गर्ने संस्थाका उपाध्यक्ष पुरु रिसालले बताए । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले नगरपालिकाले बालमैत्री घोषणा गर्न लागिरहेको बेलामा उक्त कार्यक्रमलाई निरन्तरता दिएर सहयोग गर्न आग्रह गरे । –रासस

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०९:२६