१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

शुक्रबार नेकपाको सचिवालय बैठक डाकिएको छैन, साँझ मन्त्रीपरिषद् बैठक बस्ने


२८ कात्तिक, काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबारका लागि तय नभएको नेताहरूले बताएका छन । विभिन्न सञ्चारमाध्यममा नेकपाको सचिवालय बैठक शुक्रबार बिहान बस्ने समाचार सार्वजनिक भएपछि दैनिकीले सचिवालयका तीन जना सदस्यहरूसँग कुरा गर्दै शुक्रबार सचिवालयको बैठक बोलाइएको बारेमा जानकारी नभएको बताएका छन । उनीहरूले राति ९ बजेसम्म सचिवालय बैठकको बारेमा कुनै जानकारी नपाएको बताएका छन ।

यता केही अनलाइन पोर्टलले भने मन्त्रिपरिषद् विस्तारका लागि बिहान ९ बजे सचिवालय बैठक बोलाइएको भन्दै समाचार प्रकाशन गरिरहेका छन । मन्त्रिपरिषद्को पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भन्दा बढी सञ्चारमाध्यमलाइ हतार भएपछि पाठक र श्रोताहरू रनभुल्लमा परेका छन । दिनहुँ मन्त्रिपरिषद् हेरफेरका समाचारहरू सार्वजनिक गर्दै फलानोको सम्भावना र फलानो हटाउने भन्दै खबरहरू लेखिरहेका छन । जसका कारण सर्वसाधरणमात्र हैन मन्त्रीहरू समेत तनावमा देखिएका छन ।

सञ्चारमाध्यममा नाम लेखाएर केहीले मदिराको मिठो स्वाद लिएपनि मन्त्रालयको जिम्मेवारी सम्हालेर बसेका मन्त्रीहरूमा भने तनावको अवस्था सर्जना गरेको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारकै लागि भनेर त्यस्तो ठोस योजना बनाइनसेकेको बालुवाटार स्रोतले जनाएको छ । मुलधारका सञ्चारमाध्मयहरूले नै झण्डै दुइ दर्जन पटक मन्त्रीपरिषद्को पुनर्गठन गराएका छन भने ५० को हाराहारीमा नयाँ मन्त्री थपिदिएका छन ।

यद्यपी पछिल्लो पटक पार्टीको एकता टुंगोमा पुर्याउन अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सक्रिय बनेका छन । शुक्बार पनि प्रधानमन्त्रीले पार्टीका केही शीर्ष नेतासँग पार्टीलाइ गतिदिने र एकताको सबै काम टुंग्याउने विषयमा लामो छलफल गर्ने तयारी गरेका छन । साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ । साँझको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको सचिवालयबाट राजिनामा दिएका मध्येबाट केहीको राजिनामा स्वीकृत गरि नयाँ नियुक्ति गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार २१:११