१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सहकारीमा जम्मा भएको रकम उत्पादनमा लगाउनुस : मन्त्री अर्याल


२८ कात्तिक, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी मन्त्रालय र सहकारी अभियन्ताबीचको सम्बन्ध सुमधुर बनाउदै एकताबद्ध भएर जानुपर्छ भन्ने उद्देश्यले अगाडि बढिरहेको बताउनुभएको छ । रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१ अौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । हरेक विषयमा अभियन्तासँग समन्वय गरेर अगाडि बढिरहेको भन्दै उहाँले मन्त्रालयले सहकारी अनुकुल नियमावली निर्माण गरिएको बताउनुभयो । ‘सहकारी अभियानलाई अगाडि बढाउने हिसाबले हामीले नियमावली निर्माण गरेका छौ ।

अब कार्यान्वयन गरेर जानुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो । ६५० अर्ब कारोबार सहकारी संस्थाले गरेको भन्दै उहाँले यो सानो पुँजी नभएको बताउनुभयो । बित्तिय कारोबार हुने संस्थामा केही बेथिति पनि देखिने भन्दै मन्त्री अर्यालले त्यसलाई समयमै सचेत भएन भने ठूलो दुर्घटना हुने भएकोले समयमै सचेत हुनुपर्ने बताउनुभयो । सहकारीमा जम्मा भएको पुँजी उत्पादनमा लगाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री अर्यालले भन्नुभयो ‘अब सहकारीमा जम्मा भएको रकमलाई विभिन्न उत्पादनमा लगाउनुपर्छ । उत्पादनमा लगाउनका निम्ति भएका कानुनी बाधा ब्यवधानको समाधान गरेर जानुपर्छ ।’

सहकारीको संस्था धेरै भएकोले अब त्यसलाई नियन्त्रण गर्न सहकारी संस्था मर्जरको अभियान चलाइएको बताउनुभयो । बित्तिय कारोबार गर्ने संस्थाको नियमन गर्नका निम्ति छुट्टै बचत तथा ऋण सम्बन्धि ऐन ल्याउने तयारीमा रहेको उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी विकास वोर्डका सह-अध्यक्ष दक्ष पौडेलले प्रविधिको प्रयोग गरेर कर्जा जोखिम र कर्जा सुरक्षण गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा संस्थाका अध्यक्ष ओमदेवी मल्ल जोशीले स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता पुरस्कार पत्रकार रामसुदन तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार १६:१७