१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

२६ कात्तिक, बाँके । बेतहनी-होलिया सडकमा २१ कात्तिक २ बजे एक हुल विद्यार्थी भेटिए । उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए । टिसर्ट च्यातिएको थियो । हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो । लामबाहुले लगाउने निकै कम थिए । ३ देखि ५ वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे ।

थोरै अलकत्रा छर्केर कालोपत्रे गर्न तयार गिट्टीयुक्त सडकमा अधिकांश नांगो खुट्टामै थिए । केहीको खुट्टामा चप्पल थियो । जुत्ता त कसैले पनि लगाएका थिएनन् । यो बाँकेको डुडुवा गाउँपालिकाको होलियास्थित जनता आधारभूत विद्यालयका विद्यार्थी घर फर्कंदै गर्दा हो । विकट गाउँ होलियामा मधेसी समुदायको बसोबास छ ।

‘सबैजसो मधेसी समुदायका बालबालिका छन् । उनका बाआमाले नै जुत्ता-चप्पल लगाउँदैनन् । सन्तानलाई पनि खाली खुट्टा स्कुल पठाउँछन्’, सरस्वती बाल विकास केन्द्रकी शिक्षिका नारायणी पुनले भनिन्, ‘यिनीहरूलाई खाली खुट्टामै हिँड्ने बानी छ । कतिलाई त जुत्ताचप्पल लगाएर हिँड्न पनि आउँदैन ।’ विद्यालयकी सहायक जनक दुलारी चौहानले कतिले त स्कुलमा हराउँछ भनेर चप्पल घरमा लुकाएर आएको बताइन् । बालविकासको कक्षा ०६२ देखि सुरु भए पनि विद्यार्थी संख्या दुईतीन वर्षयता मात्र बढेका हुन् । अन्नपूर्ण पोस्टले खबर छापेको छ ।

विद्यालयमा डुडुवा गाउँपालिकाको १ को खडैंचा र होलियाका बालबालिका पढ्न जान्छन् । होलिया लक्ष्मणपुर बाँधका कारण सधैं डुबानमा पर्छ । केही वर्षअघिसम्म यहाँका धेरै निरक्षर बालबालिका सडकमा खेलिरहेको भेटिन्थे । अहिले जनता आधारभूत विद्यालयको बालविकासमा १ सय २७ बालबालिका अध्ययनरत छन् । एउटै विद्यालयमा पाँचवटा बाल विकास कक्षा सञ्चालन गरिएको छ । कक्षाकोठामा फर्निचर छैन । न त भुइँमा ओछ्याउने कार्पेट राम्रो छ । विद्यालयसँग यसको व्यवस्थापन गर्न बजेट नभएको प्रधानाध्यापक शिवप्रसाद सापकोटाले बताए । बाल विकास केन्द्रको प्रशासनिक खर्च वार्षिक १२ हजार रुपैयाँ हुन्छ । उनका अनुसार रजिस्टर, चक-डस्टर सबै यही रकमले किन्नुपर्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार ०७:३६