१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बथनाहा-कटहरी रेलमार्ग निर्माण ७ महिनापछि पुनः सुरु हुँदै


२२ कात्तिक, काठमाडौं । भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु गरिने भएको छ । विराटनगर १८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि ७ महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम २ महिनापछि पुनः सुरु हुने भएको आजको गोरखापत्र दैनिकले समाचार लेखेको छ ।

रेलमार्ग विस्तारको दोस्रो खण्डअन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको ८ किमिको काम अघि बढाइने भारतीय निर्माण कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए । एक महिनाभित्रै ८ किमि दूरीका लागि बोलपत्र खोल्ने प्रक्रिया अगाडि बढिसकेकोले निर्माणले पुनः निरन्तरता पाउने कुमारको दाबी छ । नेपालतर्फ रेलमार्ग निर्माणका लागि जग्गा प्राप्त भई नसकेको र भारतले समेत बजेट रोकेका कारण काम स्थगित गरिएको भारतीय पक्षको दाबी छ ।

सांकेतिक तस्बिर ।

भारत सरकारले रेलमार्ग विस्तारका लागि ७३ करोड रुपैयाँ निकासा गरिसकेकोले बोलपत्र आह्वान गरिने भएको हो । १० किमि विस्तारका लागि १ अर्ब भारतीय रुपैयाँ माग गरिएकोमध्ये ७३ करोड रुपियाँ मात्रै निकासा भएपछि तत्काल ८ किमिका लागि बोलपत्र खोलिने भएको छ । बाँकी २ किमिमा जग्गाको मुआब्जा वितरणको कामसमेत सकिएको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार ०८:२५