१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

३८ क्वीन्टल सुन तस्करी प्रकरणका नाइके भुजुङ गुरूङ प्रहरी प्रमुख खनालका व्यावसायिक साझेदार !


-प्रतिमा ढुंगाना

१३ कात्तिक, काठमाडाैँ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका एक जना नाइके भुजुङ गुरूङसँग प्रहरी प्रमुख सर्वेन्द्र खनालको व्यवसायिक साझेदारी रहेको देखिएको छ । यसअघि गुरूङकै होटल मनङमा खनालको अबैध लगानीका बारेमा नेपाल खबरले समेत समाचार प्रकाशन गरेको थियो । प्रहरी प्रमुख खनालले ‘थर्ड पर्सन बेनिफिसियरी’ हुने गरी आफू निकटका केही व्यक्ति मार्फत काठमाडाैँ महानगरपालिका वडा नम्बर १६ मा रहेको होटल मनाङमा लगानी गरेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा खनालले अर्कै व्यक्तिको नाममा लगानी गरेको भेटिएको हो । गुरूङको सम्पत्तिको स्रोत खोज्नेक्रममा विभागले खनालको अबैध लगानी पनि भेटेको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार होटल मनाङमा देखिने लगानीकर्ता बाहेक खनालको हिस्सेदारी रहेको भेटेको हो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले होटल मनाङको लागानीबारे विस्तृत अनुसन्धान गर्ने क्रममा तेस्रो व्यक्तिहरु समेत संलग्न भेटिएको पुष्टि गर्दै उनीहरूको बारेमा पनि अनुसन्धान गरिरहेको बताएका छन । उनले खनालको नाम नलिएपनि उनी लगायतकोबारेमा समेत सूचना संकलन गरिरहेको बताए ।

सम्पत्ति शुद्धिकरण विभाग स्रोतका अनुसार होटल मनाङमा महानिरीक्षक खनालले देवेन्द्र गिरी र सुचित्रा भण्डारी गिरी मार्फत सुरुदेखि नै लगानी गरेको प्रमाण भेटिएको छ । खनालले सुरूमा गिरी दम्पत्ति मार्फत र पछि कम्पनी मार्फत समेत लगानी गरेको देखिन्छ । देवेन्द्र, सुचित्रा र सिंग ग्लोबल इन्भेष्टमेन्ट मार्फत होटलमा लगाउनी गरेको प्रारम्भिक अनुसन्धनले नै स्पष्ट भएको विभागका अधिकारी बताउछन । यसले गुरूङ र खनाल पुरानो व्यवसायीक साझेदार रहेको बुझ्न सकिन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको रेकर्ड अनुसार देवेन्द्रको नाममा एक लाख ७६ हजार कित्ता, सुचित्राको नाममा एक लाख ५४ हजार कित्ता, उज्वल सिलवालका नाममा एक लाख १० हजार कित्ता, हेमबहादुर गुरुङका नाममा ६६ हजार कित्ता र सिंग इन्भेष्टमेन्टका नाममा ६६ हजार कित्ता शेयर बाँडफाँट भएको देखिन्छ ।

मनङका सञ्चालक गुरुङ २०७४ चैत २३ मा ३८ क्वीन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको भेटिएपछि थुनामा रहेका छन । गुरूङ थुनामै गएसँगै विभागले उनीहरूको सम्पत्तिको बारेमा अनुसन्धान गरिरहेको छ । सोही होटलका अध्यक्ष हेम गुरूङको समेत स्रोत नखुलेको १८ करोड सम्पत्ति भेटिएको विभाग स्रोतले बताएको छ ।

उल्लेखित तथ्यले सरकारले हस्तक्षेप गरेर सुनतस्करी प्रकरणको अनुसन्धान अघि नबढाएको खण्डमा बीचमै गुपचुप मिल्ने अवस्थामा पुग्ने देखिएको छ । प्रहरी प्रमुख खनालले सुनतस्करी प्रकरणमा प्रहरीले स्वतन्त्र पूर्वक काम गर्न नपाएको भन्दै छानविनकै क्रममा पटकपटक असन्तुष्टि जनाएका थिए ।

खनालका अनेक काण्ड

खनालले संगठन भन्दा पनि अाफू शक्तिशाली बन्न प्रहरीका कही संरचाना तलमाथि परे जसका कारण चेनअफकामाण्डमा समस्या समेत सिर्जना भएको प्रहरीकै उच्चअधिकृतहरू बताउँछन । खनालले प्रहरीको संरचनालाई आफ्नो सचिवालय केन्द्रीत गराए जसबाट अनगिन्ती समस्या सर्जना भएको छ । खनालले मानव स्रोत र प्रशासन विभाग अन्तर्गतको यूएन महाशाखा, अपराध अनुसन्धान तथा कार्य विभागअन्तर्गतको सवारी साधन र इन्टरपोल महाशाखा महानिरीक्षकको सचिवालय अन्तर्गत बनाइयो ।

संघीय प्रहरी इकाइ कार्यालय समेत सचिवालय मातहत राखे । आइजीपी खनालले विभागीय निकायलाई निकम्मा बनाएर सचिवालय शक्तिशाली बनाउने प्रयास गरे । सचिवालयमा १३ जनाको दरबन्दी भए पनि चार दर्जन बढी खटाए । एउटा दरबन्दी रहेको एसपी पदमा तीन जना खटाए । दुई वटा प्रहरी निरीक्षकको दरबन्दी भएको ठाउँमा सात जना खटाए । आइजीपी खनालले गृह मन्त्रालयको निर्देशन विपरीत सचिवालयमा झण्डै आधा दर्जन संरचना खडा गरे ।

आइजीपी खनालले महत्वपूर्ण निकायहरु आफ्नै मातहत राखेपछि ती निकम्मा साबित भए । मुल नेतृत्वमा निरासा पैदा गर्ने गरी काम भएपछि प्रहरी संगठन प्रभावकारी हुन सकेन । सनम हत्याकाण्ड र ३३ किलो सुन तस्करी, निर्मला पन्त बलात्कारपछि हत्या जस्ता गम्भीर प्रकृतिका अपराधमा प्रहरी चुक्यो । प्रहरीले अनुसन्धान नसकेपछि यो खोसिएर गृह मन्त्रालय अर्थात् कर्मचारीमा पुग्दा प्रहरी संगठन रक्षात्मक स्थितिमा पुग्यो र पत्रकारले पश्नगर्दा हामीलाइ थहा छैन भन्ने अवस्थामा पुग्यो ।

भ्रष्टाचार माैलायो

प्रहरी मुख्यालयमा खनाल आफैँले प्रत्यक्ष हेरिरहेको विभागमा समेत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आशंका छापा हानेर महत्वपूर्ण कागजात जफत गरेर अनुसन्धान गरिरहेको छ । खनालले भीभीआइपीरभीआइपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद गर्दा स्पेसिफिकेसन परिवर्तन गरी अनियमितता गरेपछि त्यसम आयोगले सुक्ष्म अध्ययन गरिरहेको छ ।

सामान खरिदमा घोटालाको विषयलाई लिएर २०७६ साउन २१ मा ७६ र ७७ सी–२५८० र साउन २६ मा सी–३३८१ दर्ता नम्बरमा दुई छुट्टाछुट्टै उजुरी परेको छ । आर्थिक वर्ष ०७४–७५ र ०७५–७६ का लागि भएका पोसाक तथा सवारी साधन खरिदसम्बन्धी कागजात अख्तियारको नियन्त्रणमा छ  । प्रहरीले आर्थिक वर्ष ०७४–७५ मा गुणस्तर परीक्षण फेल भएका १५ हजार थान बुट अर्कै टेण्डरबाट स्वीकार गरेपछि अख्तियारले हात हालेको हो । अर्थ मन्त्रालयका अनुसार नेपाल प्रहरीले आर्थिक वर्ष ०७४–७५ मा ९० करोड एक लाख र आव ०७५–७६ मा ६८ करोड ५२ लाखको पोसाक किनेको थियो ।

आइजीपी खनालले देशभरका प्रहरीले प्रयोग गर्ने पोसाक, सवारीलगायत बन्दोबस्तीका सामान प्रहरी प्रधान कार्यालयबाटै खरिद गर्ने व्यवस्था मिलाएका छन् । यसअघि स्वदेशबाटै खरिद गर्न सकिने वस्तु आपूर्तिको जिम्मा साविकका क्षेत्रीय प्रहरी कार्यालयलाई दिने गरिएको थियो । कमिसनकै लागि प्रधान कार्यालयबाटै सामान खरिदको व्यवस्था मिलाइएको स्रोतको दाबी छ ।

आर्थिक वर्ष ०७५–७६ मा करीब एक अर्ब रुपैयाँ बराबरको औजार खरिद भएको थियो । जसमध्ये ६० प्रतिशत टेण्डर र ४० प्रतिशत कोटेसनमार्फत खरिद भएको स्रोत बताउँछ । त्यस्तै, गत वर्ष प्रहरीले प्रयोग गर्ने पाल, फरेस क्याप, ट्राफिक प्रहरीले प्रयोग गर्ने वर्षादी, गमबुट, नाएलटन पट्टीलगायत १२ थरी सामानका लागि एक करोड ४३ लाख दुई हजार एक सय २७ रुपैयाँ बजेट विनियोजन गरिएको थियो । टेण्टरमार्फत खरिद गर्नुपर्ने यी सामान शिल कोटेसनमार्फत थोरै–थोरै परिमाणमा किनिएको थियो । गुणस्तर परीक्षणमा फेल भएर फिर्ता गरिएका डीएम–बुट पनि गत वर्ष स्वीकार गरिएको उजुरी अख्तियारमा छ ।

यसैगरी अख्तियारले भिआइपी तथा भिभिआइपीको स्कर्टिङका लागि खरिद गरिएको मोटरसाइकलमा भएको अनियमिततमा पनि छानविन गरिरहेको छ । बजेट नम्बर २९४११ बाट २१ करोड ६० लाख रुपैयाँमा ३८ वटा मोटरसाइकल खरिद खरिएको थियो । सस्तो दरको प्रस्ताव अस्वीकार गरी महँगोलाई स्वीकृत गरेपछि छानबिन पूरा नहुञ्जेल भुक्तानी नदिन गत वर्ष नै अख्तियारले प्रहरीलाई निर्देशन दिएको थियो । तर, प्रहरीले भुक्तानी गरेको थियो । ०७५ मंसिर ३ गते पहिलो पटक सूचना निकालेर पुस २६ गते स्वीकृत गरिएको ३० थान कारकेड मोटरसाइकल (एस्कर्टिङ बाइक) १२ करोड ३७ लाख १६ हजार ८१४ रुपैयाँमा भीजी अटो मोबाइल प्रालि (भीमसेनगोला) लाई प्रदान गरियो ।

शुरुको बोलपत्र आह्वान गर्दा भएको प्रावधान विपरीत ०७५ मंसिर २३ गते (मंसिर ३ गतेको सूचना संशोधन) कम्तीमा खरिद गरिने एस्कर्टिङ बाइक नेपाली बजारमा एक वर्ष प्रयोगमा आइसकेको हुनुपर्ने उल्लेख गरेको तर पछि ‘क्वालिफीकेसन क्राइटेरिया’ को एक वर्ष भन्ने प्रावधान हटाएर कम्तीमा ३ वर्ष हुनुपर्ने राखियो । नयाँ प्रावधानअनुसार जापानी सुजुकी कम्पनीबाट ६५० सीसीका ३० थान एस्कर्टिङ मोटरसाइकल प्रहरीले ल्याइसकेको छ । ०७५ असोज १४ गते सरकारले कारकेड बाइक खरिदका लागि बजेट स्वीकृत गरेको थियो ।

जुत्ता खरिदमा यसरी भयो अनियमितता
प्रहरी प्रधान कार्यालयले ठेकेदार कम्पनी एसके ट्रेडर्ससँग ४६ हजार पीटी जुुत्ता खरिद गर्ने नयाँ सम्झौता गरेको थियो । स्रोतका अनुसार उक्त जुत्ता ठेकेदार कम्पनी समृद्धि ट्रेडिङको हो । जसका मालिक मित्र लामा हुन् । आर्थिक बर्ष ०७४–७५ का लागि पीटी जुत्ता खरिद ठेक्का उनले पाएका थिए । सोही अनुसार उनले ४६ हजार जोर जुत्ता खरिद गरेका थिए ।

खरिद गरिएको जुत्ता गुणास्तरहीन भएपछि उनले प्रधान कार्यालयस्थित भण्डारण शाखामा ०७५ जेठमा सटुुक्क बुझाएका थिए । जसका लागि लामाले एक करोड ३८ लाख ४६ हजार रुपैयाँ खर्च गरेको थिए । शंका लागेपछि प्रहरीले जुत्ताको गुणस्तर परीक्षण गर्न अनुसन्धान समिति नै गठन गरेको थियो । सोही समितिले ट्रेडिङको जुत्ता गुणस्तहीन प्रमाणित गरेका थियो । घटनापछि प्रधान कार्यालयले सम्पूर्ण जुत्ता कम्पनीलाई नै फिर्ता गरेको थियो । तर, पछि सोही जुुत्ता एसके ट्रेडर्सले खरिद गर्‍यो । प्रहरी प्रधान कार्यालयले सोही जुत्ता खरिद गर्न एसकेसँग नयाँ सम्झौता गर्‍यो ।

यसरी भयो सम्झौता
समृद्धि ट्रेडिङको जुत्ता स्पेसिफीकेशन अनुसार नभएको प्रमाणित भएपछि जुत्ता फिर्ता भए । तर, यस बेलासम्म ठेकेदार कम्पनीले एक करोड ३८ लाख ४६ हजार रुपैयाँ खर्च गरिसकेका थिए । पोल सार्वजनिक हुने भएपछि प्रहरी प्रधान कार्यालय उनकै जुत्ता खरिद गर्नतिर लाग्यो । यसका लागि प्रहरी प्रधान कार्यालयले पुरानै ठेक्का नम्वर PHQ|G|NCB 2075-075 -31 मा टेण्डर आह्वान गर्‍यो ।

जसमा ठेकेदार कम्पनी एसके ट्रेडर्स छनोट भयो । योजना अनुसार नै प्रहरी प्रधान कार्यालयले अघिल्लो पटक गुुणस्तरहीन प्रमाणित ४६ हजार जोर जुत्ता समृद्धि ट्रेडिङसँग खरिद गर्‍यो । अन्ततः प्रधान कार्यालयले सोही जुत्ता खरिद गर्न एसकेसँग नयाँ सम्झौता गर्‍यो । एसके ट्रेडर्सले टेण्डर सम्झौता गर्दा पिटी जुत्ता चीनमा उत्पादन भएको भनिएको छ । तर, ट्रेडर्सले चीनबाट चालू आर्थिक बर्षमा कुनै पनि किसिमका जुत्ता आयात नगरेको भन्सार कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

अख्तियारको अनुसन्धानले समेत प्रहरीले ट्रेडर्ससँग खरिद गरेका जुत्ता चीनमा नभई भारतीय कम्पनीमा उत्पादन भएको देखाएको छ । त्यसो हुँदा उक्त जुुत्ता एसके ट्रेडर्सले समृद्धि ट्रेडिङसँगै खरिद गरेको पुष्टि हुन्छ । स्रोतका अनुुसार घटनामा आइजीपी खनाल नै संलग्न रहेको देखिएको छ ।

बुट, सर्टरपाइन्ट, पिकअप भ्यान, मेसिनरी औजार खरिदमा समेत भ्रष्टाचार गरेको आशंका सक्कली बिल नियन्त्रणमा लिएर आयोगले छानविन गरिरहेको छ । खनालले गुणस्तर परीक्षण फेल भएर फिर्ता भइसकेका बुट कमिसनको चक्करमा स्वीकार गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । प्रहरी मुख्यालयको भ्रष्टाचारको बारेमा केहीदिन अघि सीधाकुरा जनतासँगमा समेत एउटा रिपोर्ट प्रशारण भएको थियो । जुन रिपोर्ट तल हेर्न र सुन्न सक्नुहुन्छ  ।

परराष्ट्रनीति विपरित भारतीयसँग स्वरमिलाउँदा राष्ट्रको गरिमामा चोट

देशको हितविरूद्ध खनालले विमस्टेकको अन्तर्राष्ट्रिय मञ्चमा गरेको गल्तीको सर्वत्र आलोचना र निन्दा भैरहेको छ । तर सरकारले भने उनको गल्ती सच्चयाएर हाइसञ्चो मानेर बसेको छ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) राष्ट्रका सुरक्षा प्रमुखको २०७५ चैत ७ गते थाइल्यान्डको बैंककमा भएको बैठकमा खनालले परराष्ट्र नीति उल्लंघन गर्दै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको प्रस्तावलाई अनुमोदन गरेका थिए ।

उक्त विषय देशको परराष्ट्रनीति विरुद्ध रहेकाले स्वीकार्न नसकिने भन्दै गृह मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट अस्वीकृत गरिदिएको छ भने खनालले बैंकक बैठकमा गरेको अनुमोदन अस्वीकृत भएको पत्र गृहले २०७६ असार ३ गते परराष्ट्र मन्त्रालयमा पठाएको छ । यद्यपी यसमा सरकारले प्रहरी प्रमुख खनालसँग माैखिक स्पष्टिकरण सोध्ने भन्दा बाहेक केही काम गरेन ।

यो पनि पढ्नुहोस्

-कुमार पाैडेल हत्या प्रकरणः नैतिकताको आधारमा प्रहरी महानिरीक्षक खनालको राजिनामा !

-प्रहरी प्रमुखज्यू, राज्यका वन्दुक र गोलीको दुरुपयोग गरेर इन्काउन्टरका नाममा हत्या कहिलेसम्म ?

-नियमविपरित डिआइजीलाई पदक सिफारिस, प्रहरी प्रमुख सर्वेन्द्र खनालको नाम सूचीबाट काटियो

-नेपाल प्रहरीका आईजी सर्वेन्द्र खनालको नियतमा शंका देखेपछि अख्तियारले पत्र काट्यो

-भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रमुख सर्वेन्द्र खनालको अधिकारमा ‘कु’, बर्खास्त गर्ने तयारी

-मातहतका निकायसँगै निरीह बन्यो सरकार, प्रहरी प्रमुख सर्वेन्द्र खनालले गरेको गल्ती सच्यियो

-लोकमानको लयमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल

-निर्मला हत्या प्रकरणः नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालाइ बर्खास्त गर्न माग

-जाम खुलाउने विषयमा प्रहरी प्रमुख खनालले वेवास्ता गरेपछि गृहमन्त्री थापाले नै लिए अग्रसरता

-प्रहरी प्रमुख खनालका विश्वासपत्र एसएसपी सिंह पनि राजनानारायण घुस प्रकरणको मतियार 

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार १५:५४