Logo

के देवकोटा साना छन् ?



-विमल आचार्य

“देवकोटा
अग्ला, मोटा र छिटा !”
मैले एक दिन आफैंले लेखेथें । तर, यस्तो भावना कसरी आयो, म भन्न सक्तिनँ ।
हातमा फित्ता लिई नाप्नुस्त, देवकोटाको उच्चाइ कत्रो छ ? नाप्नुभो ? कञ्चनजङ्घा, ल्होत्से होइन; सगरमाथा नाप्नुभो । देवकोटको वजन ? अँ तुलो लिई जोख्नुस्त । छ सयभन्दा बढी कविता, दुई दर्जन खण्डकाव्य, आधा दर्जन महाकाव्य, एक अनुवादसहित तीन निबन्ध सङ्ग्रह, दुई नाटक, एक उपन्यास, एक कथा सङ्ग्रह इत्यादि जोख्नुभो ? पृथ्वी होइन, पृथ्वीभन्दा साढे तीन लाख गुणा गरुङ्गो सूर्य जोख्नुभो । अनि यो ‘छिटा’ चाहिं ? प्रकाश र देवकोटालाई सँगै दौड स्पर्धा गराउनुस्त । गराउनुभो ? प्रकाश एक सेकेन्डमा जम्मा तीन लाख किमि अनि देवकोटा चाहिं हरएक सेकेन्डमा सारा ब्रह्माण्ड । विश्वास लागेन ? ‘सुलोचना’ र ‘कुञ्जिनी’को पाठेघरावधि हेर्नुस्त; जम्मा दस दिन र एक रात ।
देवकोटा कमिला छन् तर सगरमाथा छन् । कपास छन् तर सूर्य छन् । कछुवा छन् तर प्रका छन् ।

म दस वर्षमा ‘ताराबाजी लैलैै’मा छु । देवकोटा चाहिँ ‘घनघोर दुःख सागर’ सृष्टिमा छन् । खामबन्दी चिट्ठी बोक्ने पट्टुझैं एकोहोरो चिच्याइरहेछु, कराइरहेछु । तर, अर्थ बुझ्ने सामथ्र्य छैन मसँग । यता देवकोटा ‘नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई..’ लेख्छन् । उता म ‘लैलै’ कण्ठस्थ सुनाउन सकेकामा घमण्डी भएको छु । दस वर्षमै घमण्ड नगर्नू, मर्नु त छँदै छ; अज्ञात मरणको शाश्वत ज्ञात । ओहोे ! दस वर्षमै यति अजस्र प्रतिभा, विराट् चिन्तन । धन्य देवकोटा, ‘हुने बिरुवाको चिल्लो पात !’ ‘मलिलो’मा उम्रिन पाए को हुन्नथ्यो र, चिल्लो ? ‘बालुवा सल्यान’मा उम्रेपछि चिल्लो न खस्रो, यत्रैसित्ति ! म चित्त बुझाउँछु ।

देवकोटा एउटा इन्साइक्लोपेडिया, एउटा ब्रम्हाण्ड, एउटा समुद्र, एउटा युग, एउटा अद्भुत रहस्य, प्रतिभाका महान् खानी, कल्पनाका अनन्त यात्री, साधनाका भगीरथ ! प्रतिभा, व्युत्पत्ति र अभ्यास, यी तीनौटैका अनुपम सङ्गम । पृथ्वी लोकको पचास वर्षे छोटो यात्रामा आधापछि अर्थात् पच्चीस वर्षसम्म पढिरहे; पूर्वेली–पस्सिमी ज्ञान, विज्ञान, साहित्य, कला; अनि झुल्किए । साहित्य सिर्जनामा निरन्तर भगीरथ अभ्यास गरिरहे, साधना गरिरहे । प्रतिभाको विशाल खानी त छँदै थियो; अझ त्यसमा गहन अध्ययन र पन्ध्र वर्षे अभ्यासको संयोजन । प्रतिभा, व्युत्पत्ति र अभ्यास !

वस्तुसौन्दर्यको कवितात्मक चित्रकारिता जान्दैनन् मेरा महाकवि । आदर्श, परिष्कार, सिंगारपटार थाहा छैन । त्यसैले त भन्छन्, ‘अलङ्कार चन्द्रोदयका नियमअनुसार कविता लेखी सिंगारीपटारी राम्रो बन्ने सचेत अनुकरणबाट सौन्दर्य निकाल्ने मेरा निमित्त रद्दी लेखक हुन, गह्रुङ्गो भारी झोक्र्याइँ र रौं चिर्ने बहससँग मेरो गोरु बेचेको साइनोसम्म पनि छैन ।’

मनोगत भावावेगका प्रवाहज्वारका ऊर्जामा सौन्दर्यका छालहरूसँग छिल्लिरहनुमा उनी ज्यादा रमाउँछन् । भाषा र प्रस्तुतिका कालिगडी देवकोटा हुँदै होइनन् बरु हृदयबाट जेजसरी जे निस्किन्छ पानाभरि ओकलिदिन्छन् जहाँ पनि, जहिले पनि ।

मेरा महाकविसँग गिदी छैन, मुटु छ । विचार छैन, भावना छ । वस्तुचेतना छैन, आत्मचेतना छ । कृत्रिमता छैन, स्वतःस्फूर्तता छ । यथार्थ छैन, कल्पना छ । कठोर गद्य छैन, कोमल पद्य छ । अभिजात छैन, सर्वसाधारण छ । तर्क छैन, लहड छ । नियम र परम्पराको अनुकरण छैन, विद्रोह छ । तसर्थ मेरा महाकवि परम्परा तोड्ने ‘पागल’ हुन् । बाङ्गोटिङ्गो हिँड्ने ‘लहडी’ हुन् । टाउकै नभएका ‘मुर्कट्टा’ हुन् ।
‘मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुलाहा भने ।’
मेरा महाकवि कोकिलको गीतमा छमछमी नाच्थे । माघको रातमा ताराको आगो ताप्थे बगैंचामा । गुलाफमा हेलेन र पद्मिनी देख्थे । शब्दहरू देख्थे । दृश्यहरू सुन्दथे । वास्नाहरू चाख्थे । ‘अन्धा’लाई अगुवा देख्थे । गुफा तपस्वीलाई भगुवा देख्थे । राजालाई गरीब । हामीले धर्म कमाउन गर्ने कार्यकलापलाई पाप ठान्थे । र त राँची पुर्याइए । ‘पृथ्वी घुम्छ’ भन्दा ग्यालिलियोलाई झ्यालखाना जाकियो; ‘टाउको घुम्छ’ भन्दा मेरा महाकविलाई राँची पुर्याइयो ।

 सपना छुन खोज्दा, झरनाका प्राकृतिक वेद टिप्न खोज्दा ‘पागल’ बनाइयो । डाक्टर हिलले रोग पत्ता लगाए, ‘जोग्राफिकल मिस्टेक’ । रोग लागेछ पूर्वमा अझ भनौं, नेपालमा जन्मेकाले । यतै जन्मेका भए पनि पश्चिममा गई बस्या भए त रे । मेरा महाकविलाई लोकले चिनेन र जानेन रे । ‘भौगोलिक भूल’ भएकै सही–महाकवि घरमै त जन्मे । एक जुगमा एक महाकवि एकचोटि आउँछ रे त !

सय वर्षअघि जन्मेका मेरा महाकविले ठेली बढी पढेका थिए । जुन अध्ययनलाई अहिलेसम्म पनि धेरैले महानै मान्छन् । अङ्ग्रेजीको ट्युसन मास्टर हुने लोभमा अङ्ग्रेजी पढन थालेको एउटा विद्यार्थीले अङ्ग्रेजी साहित्यको भण्डार नै जुठ्याइदियो र जुठ्याइरह्यो जीवनभर । पौरस्त्य र पश्चिमा दुवै दर्शन र साहित्यको विराट् अध्ययन, कानुनको अध्ययन !

अङ्ग्रेजी साहित्यमा एम्एसम्म पढेका मेरा महाकविले अङ्ग्रेजीको प्रभाव र प्रवृत्तिमार्फत नेपाली साहित्यलाई आधुनिकताको जामा पहिर्याए; स्वच्छदतावादी–निजात्मक–आत्मगत प्रवृत्ति भित्र्याए । पश्चिमी साहित्यका तेह्र निबन्ध अनुवाद गरी ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ नाम दिए । यीमध्ये दसोटा त आत्मपरक, निजात्मक र वैयक्तिक नै छन् । यसबाट पनि स्पष्ट हुन्छ, महाकवि स्वच्छन्दतावादी प्रवृत्तिबाट अचाक्ली प्रभावित थिए ।
सेक्सपियर, वर्डस्वर्थ, कलरिज, शेली, किट्स, बाइरनका कविता अनि मोन्तेनका निबन्धबाट देवकोटा प्रभावित थिए भन्दा हामी कालीदासबाट झन् बढ्ता प्रभावित थिए भन्न बिर्सन्छौं । अहँ होइन, कञ्जुस्याइँ गर्छौं । पूर्वीय दर्शन र मिथहरूबाट देवकोटा अझ बढी प्रभावित छन् ।

‘शाकुन्तल’ महाकाव्य नेपाली साहित्यमा ‘आइसल्याण्डको सर्प’ हो, कोसेढुङ्गा हो । मेरा महाकवि नेपाली भाषामा जस्तै अङ्गे्रजी र संस्कृतमा पनि पोख्त थिए । ‘शाकुन्तल’ अङ्गे्रजीमा पनि लेखेका छन् । ‘सिकन्दर’ संस्कृतमा; यद्यपि यो पूरा हुन भने सकेन । अनुवादमा महाकविको प्रेम थियो । पस्सिमे साहित्यका राम्रा कृति भाषाको असहजतताले अपठित नहोऊन्, उनी चाहन्थे । आफ्नै रचनालाई आफंैले अनुवाद गरे पनि । अनि, पहिलो भाषा अङ्ग्रेजी नै पनि बनाए कहींकतै । ‘म्याक्वेथ’को अनुवाद !

मेरा महाकवि ! पहिलो स्वच्छन्दतावादी कवि, पहिलो स्वच्छन्दतावादी खण्डकाव्यकार, पहिलो ‘मौलिक’ महाकाव्यकार, पहिलो निजात्मक निबन्धकार, पहिलो गीतिनाटककार, पहिलो अनुवादक (अङ्ग्रेजीबाट), अङ्ग्रेजीमा कविता–महाकाव्यसमेत लेख्ने पहिलो कवि । छोटो समयमा मोटो लेख्ने कवि !

महाकवि ! तिमीले ‘सार्वजनिक साहित्य यातायात’मा जम्मा पच्चीस वर्ष मात्रै यात्रा ग¥यौ । तर, यही छोटो यात्रामा तिमीले के चाहिं गरेनौ ? के लेखेनौ ? के भोगेनौ ? प्रशस्त कविता लेख्यौ, महाकाव्य लेख्यौ, कथा लेख्यौ, उपन्यास लेख्यौ, अनुवाद गर्यौ, प्राध्यापन गर्यौ, सम्पादन गर्यौ, समालोचना गर्यौ, मन्त्री भयौ, गीत लेख्यौ, बालकविता लेख्यौ, विश्वविद्यालय खोल्यौ ।

लेखक आचार्य ।

ओहो ! तिम्रो पच्चीस वर्षे बहुरङ्गी यात्रा हामीले सयौं वर्षसम्म पनि हिंडिसकेनौं, बुझिसकेनौं, पढिसकेनौैं, जानिसकेनौैं । तिमी एक रातमा लेख्छौ, हामी एक जुगमा त्यही जानिसक्दैनौँ, पढिसक्दैनौँ, बुझिसक्देनौँ । कवि ! तिमी महान् आश्चर्य हौ, अद्भुत रहस्य हौ, विशाल समुद्र हौ । हाई डार्लिङ ! आई लभ यु !!!

तिमी गुण पनि परिमाण पनि । तिमी धेरै पनि उत्कृष्ट पनि । धेरैमा तिमी तिवारी, तर त्यही तिवारीमा रिमाल । उत्कृष्टतामा तिमी रिमाल, तर त्यही रिमालमा तिवारी । कविताका तीनै आयाम तिमीले रच्यौ । सर्वोत्कृट रच्यौ, कालजयी रच्यौ, ब्रह्माण्ड रच्यौ, भविष्य रच्यौ । सबै ऋतुमा उत्तिकै मुस्कुराउने फूल; शिशिर, हेमन्त, ग्रीष्म, वर्षा सधैंैं फुलिरहने कहिल्यै नओइलाउने अजम्बरी !

तिमीले धरतीमा फूल नरोपेको पचास वर्ष भइसक्यो तर यो धरतीमा तिमीले रोपे जति फूलहरू कसैले रोपेको छैन, तिम्राले दिने जति सुवास अन्त कहीँ छैन । तिमी सगरमाथा हौ, अरूहरू गौरीशङ्कर, चोयू र अन्नपूर्ण हुन् । तिमी कहिल्यै नओइलाउने मखमली हौ, अरूहरू सयपत्री, बुकी र चम्पा । विशालतामा तिमी रारा हौ, अरूहरू फोक्सुक्डो, फेवा र कुपिण्डे ।

मेरा महाकवि समाज लेख्छन, इतिहास लेख्छन्, मिथक र पुराण लेख्छन्, कल्पना लेख्छन्, सपना लेख्छन्, प्रेम लेख्छन्, खासमा त उनी मानवता लेख्छन् । इतिहास र मिथकले कुनै देशको परिधि नाप्दैनन् । ‘महाराणाप्रताप’, ‘पृथ्वीराज चौहान’मा भारतीय मध्यकालीन इतिहास उतार्छन् । दुई ऐतिहासिक चरित्रका मुखबाट भारतीय स्वतन्त्रता र स्वाधीनताका लागि गीत गाउँछन् ।

मेरा महाकवि विश्वशान्ति चाहने कट्टर मानवतावादी हुन् । साहित्यमा मात्रै होइन, जिन्दगीमा समेत महाकवि मानवतावादी, सहयोगी र त्यागी ‘नेता’ हुन् । ‘कटक’मा इतिहास महापुरुष भीमसेन थापाको उच्च सम्मान गर्छन् । ‘शाकुन्तल’ र ‘प्रमिथस’मा पुराण र मिथक लेख्छन् तर कल्पना र भावनाको लेपमा । प्रमिथस ! गद्य महाकाव्य, प्रगतिवादी महाकाव्य, सार्वकालिक, सार्वजनिन, सार्वभौम महाकाव्य । वीर रस उर्लिएको छ, प्रगतिवादिता छचल्किएको छ ।

‘सुलोचना’, ‘मुनामदन’, ‘कुञ्जिनी’मा समाज लेख्छन्, प्रेम लेख्छन्, त्याग र समर्पण लेख्छन् । ‘मुनामदन’ त नेपाली साहित्यको अमूल्य निधि, जाज्वल्यमान नक्षत्र, कोसेढुङ्गो । यसलाई त लोकगाथाभन्दा पनि बढ्तै नहोला किनकि मेरी हजुरआमा ‘मुनामदन’ कण्ठस्थ सुनाउँछिन् । न उनले कहीं–कतै कहिल्यै औपचारिक शिक्षा लिइनन्, न उनलाई लेखक नै थाहा छ । तर, मुनामदन ‘सरुमैरानी’झैं भट्याइरन्छिन् । सारा लोक र लोकतन्त्रको हृदय छोएको छ । आँखाको डिल भत्काएको छ । सरल छ, सरस छ, मधुर छ, मीठ्ठो ‘गाइने’ लय छ, त्यसैले त धेरै नेपाली जिब्रोमा मःमःझैं झुन्डेको छ । मुना र मदनको अमर प्रेम, त्याग, समर्पणका अघि रोमियो–जुलियट, लैला–मजनुको प्रसङ्ग मलाई निकै फिक्का लाग्छ ।

विद्वान्हरू भन्छन्– मुनामदनसँगै महाकवि फेरि जन्मे । अनि, पागलसँगै तेस्रोपटक । तर, मलाई यो पटक्कै चित्त बुझेको छैन । मेरा महाकवि कहिल्यै मरेनन् । मरेका छैनन्– तीन तीन पटकसम्म पुनर्जन्म हुने गरी त झन् । न त मुनामदन अठार वर्षमै मर्यौ फेरि जन्मिनलाई । बरु, महाकविले छब्बीस वर्षमा ‘मुनामदन’ जन्माए । अनि अठार वर्षपछि ‘पागल’ ।

‘शाकुन्तल’ समेत गरी महाकविका तीनौटा मात्रै सन्तान जन्मेको भन्दा विद्वान्हरूसँग म दुर्वासा हुन्छु । दाँत कट्कट्टिन्छन, पसिना रसाउन थाल्छन् अन्वारभरि । ऐना हेर्छु– म आफूलाई घामपानी पर्दाको कर्टटपाताजस्तो पाउँछु । ‘हे विद्वान् ! महाकविका सबै सन्तान उत्तिकै रूपवती, गुणवती, रसिली, हँसिली, फरासिली, शान्त, पोटिली छन् । खै, तिमीहरू किन साँघुरिन्छौ ?’ म चिच्याउँछु । उमेर जति ढल्के पनि कुनै सन्तानका गाला चाउरी पर्ने छैनन्, केश फुल्ने छैनन्, दाँत झर्ने छैनन् । सधैं उस्तै उस्तै मेरा महाकविजस्तै !

मेरा महाकविको प्रजनन क्षमताले विश्वका सारा आम्बाहरूलाई चुनौती दिएको छ, जसले पच्चीस वर्षमा सयौं सन्तान जन्माइदियो– सबै हृष्ठपुष्ठ, बलिष्ठ । कोही सन्तान अशक्त, कुपोषित, रोगी भएको मलाई थाहा छैन । पाठेघर बसाइँमा शिशुले कहिल्यै कुनै कमी भोग्नुपरेन बरु जन्मिसकेपछि हामीले स्याहारसुसार नगरिदिंदा कति शिशु त्यसै बिलाए हुनन् । सायद त्यसैले पनि हो कि, प्रजनन क्षमता उत्तिकै सशक्त र पूर्ण हुँदाहुँदै पनि आमा चाँडै बिलाइन् । बिलाइन् । बिलाइन् ।

मेरा महाकवि लहडी, सन्की र ‘पागल’ थिए । मनले जति बेला जे गर् भन्छ त्यही गर्थे, त्यही लेख्थे ह्वालह्वाल्ती । हृदयलाई गिदीको लगाम कहिल्यै लगाएनन् न त सिर्जनामा न त जीवनमा नै । सिर्जनामा ‘सिंगारीपटारी पटक्कै नरुचाउने’ कवि पछि ‘मुनामदन’, ‘प्रमिथस’को परिष्कार–परिमार्जन गर्छन् । ‘मानिस ठूलो जातले हुँदैन’ भनेका कवि राँची अस्पतालमा छूतछात होला कि भनी डराउँछन् । अनि, रामनवमीमा घडीचरो ‘चषक’सँगै निल्छन् । कहिले काँग्रेसको विधान लेख्छन् । कहिले गोरखादलको घोषणापत्र अनि कहिले शिक्षामन्त्री । अआइईउऊऋए..औ (अस्थिर, आक्रोशित, इमानदार, ईश्वरी, उडन्ते, ऊर्जावान्, ऋषितुल्य, एकसुरे र औसरवादी) प्रिय मयालु !!

मेरा महाकवि कुवाको पानी होइनन्, पोखरीको ट्यारट्यारे जल पनि होइनन; हुन् त– हिमाल, पर्वत, रुख बुट्यान, ढुङ्गा, माटो स्पर्श गर्दै समुद्र बगिरहने पानी, कञ्चन पानी । जो सधैं चलायमान छ, कतै घट्ट चलाउँछ, कतै बिजुली निकाल्छ, कतै बाढी बन्छ, कतै पहिरो बन्छ, कतै प्यास मेटाउँछ, कतै किनारमा प्रेमीप्रेमिकालाई छिल्याउँछ, कतै कुलो–नहर–धाराको टुटीमा चुहिन्छ । हलुका बादल हुन्, जो छिनछिनमै रूपरङ्ग, आकारविचार साटिरहन्छ, अनन्त अन्तरिक्षमा कावा खाँदै । जीवन र लेखन दुवैमा उनी हावा नै हुन्, महाहावा मान्छे !

समालोचकहरू भन्छन्– देवकोटा स्वच्छन्दतावादी हुन्, परिष्कारवादी होइनन् । आलोचकहरू भन्छन्– यथार्थवादका कट्टर विरोधी हुन् । चापागाई–बरालहरू भन्छन्– प्रगतिवादी होइनन् । हो, मेरा महकविले आजका प्रगतिवादी कविहरूले जस्तै नाराभाषणकविता लेखेनन् । तर लेखे, ‘म अन्धालाई दुनियाँको अगुवा देख्छु, राजालाई गरीब ।’

मेरा महाकवि सिद्धान्त र वादको साँघुरो घेराभित्र अटाउँदैनन् । वादको डरले उनले हृदयको भावमा कहिल्यै कैंची लाएनन् । ‘सिस्टर निवेदिता’ अङ्ग्रेजी नाटक संस्कृत छन्दमा, यो कुन वादअन्तर्गत प¥यो ? ‘सुलोचना’ कवितात्मक नाटक अथवा पद्य उपन्यास, यो महाकाव्य विधाअन्तर्गत परेन कि ? यस्तै भएर त होला, ‘लक्ष्मी निबन्ध सङ्ग्रह’लाई ‘गद्य महाकाव्य’ नाउँ दिइएको । मेरा महाकवि कवितामा निबन्ध लेख्छन् त निबन्धमा कविता । गद्यमा महाकाव्य लेख्छन् अनि पद्यमा निबन्ध र नाटक ।

हृदयबाट झुल्किएको अतिशय काल्पनिकता विधातत्वका सीमाले रोकिंदैन, काँटछाँट हुँदैन । भावलाई विचार र शिल्पको लगाम स्वीकार्य छैन, भाव पङ्खफुका भएर कापीभरि पोखिन्छ छरपष्ट । सिद्धान्त, विधा, वादभन्दा देवकोटा निकै माथि छन् । महाकविलाई जिन्दावादी र मुर्दावादी भन्नुभन्दा मानवतावादी भन्नु वाञ्छनीय ठहरिएला ।

विधासिद्धान्तलाई महाकविले तोडमोड गरे भनेर पूरै विद्राही हुन् भन्न पनि त मिल्दैन नि । संस्कृतका मात्रिक–वर्णमात्रिक छन्दलाई नचलाई महाकाव्य रचेका छन्; ‘शाकुन्तल’, ‘सुलोचना’, ‘वनकुसुम’, ‘महाराणाप्रताप’ । कविता लेखेरै थुप्रै पुरस्कार हात पारिसकेका आजका कविजी गद्यका नाउँमा लेख्नुहुन्छ– गद्य, कठोर, ठोस कविता शब्दकोश पल्ठाउँदै ‘दादा’रूपी पुङपाङ ।

मेरा महाकवि आँखाले हेर्दैनन, हृदयले हेर्छन् । उनका लागि यस्तो छ होइन, यस्तो देखिन्छ । प्रकृति ! प्रकृति एक प्रेयसी, एक सँगिनी, एक श्रीमती, एक ममतामयी काख । सब थोक प्रकृति, प्रकृतिप्रेमी महाकवि । मान्छे, प्रकृति र ईश्वरको त्रिकोणात्मक प्रेम, कवि आह्वान गर्छन् ।
दीनहीन, रुग्ण, कोलाहलमय, मृत युगबाट मुक्तिका लागि ‘प्रकृतितर्फ फर्क’ कवि आग्रह गर्छन् । ‘उषाकालीन प्रकृतिको जीवन सङ्गीत सुन’ कवि अनुरोध गर्छन् । प्रकृतिमा सब थोक छ । सितलता छ, शान्ति छ, सुख छ, आनन्द छ, बैंस छ; त्यसैले त महाकवि गाउँछन् ‘उद्यानमा बस गई सब तत्व खुल्छन् ।’
चार आनाको विषयमा पच्चीस आनाको शैली देखाउने फूलबुट्टे जबर्जस्त साहित्यकारलाई कवि उडाउँछन् । गुरुको ढर्रा र आडम्बरलाई प्राकृत, सरल जीवन व्यतीत गर्ने गधाका अघि नङ्ग्याउँछन् । नङ्ग्याउँछन, तर शिष्टता र शालीनता ननाघी । आपूm पागल भएको सकारी सारा लोकलाई पागल प्रमाणित गरिदिन्छन् । प्रभुलाई भेडो बनाइदिन अनुरोध गर्छन् ।

‘हाई हाई अङ्ग्रेजी’, ‘सुस्तरी सास फेर’, ‘मसलाको बोटले के हेर्छ ?’ ‘शिक्षा’, ‘फर्सीको झोल’ जब म पढ्छु हाँस्ताहाँस्तै पेट दुख्छ, आँसु चुहिन्छ, कडा व्यङ्ग्यले तिरिमिरी झ्याइँ बनाउँछ । रमरम टिम्मुरे बौद्धिकताभित्र नुनचूकझैं व्यङ्ग्य, कवि गर्छन् । अहिलेसम्म पनि मेरा कुप्रवृत्ति र कुंसस्कारका रूपमा विद्यमान विषयमा छेड हान्न खप्पिस रैछन् मेरा महाकवि । वाह महाकवि वाह ! एक चरण जाओस् न यार फेरि !!!

लेखनाथदेखि बर्नाड शबारे पनि टिप्पणी गरेका छन् । ‘तरुणतपसी’को प्रदच्छिणा गरेका छन् । के मेरा महाकवि द्रष्टा पनि हुन्, समीक्षक पनि हुन्, समालोचक पनि हुन् ? पक्कै पनि । ओहो ! महाकवि, यति छोटो यात्रामा तिमीले के चाहिं गरेनौ यार ?
धन्य महाकवि ! जय महाकवि ! हाई हाई महाकवि !
तब त किन नलेखूँ— ‘देवकोटा ! अग्ला, मोटा र छिटा !!’

……..

(यो निबन्ध २०६६ मा देवकोटा सय वर्ष पुगेका बेला लेखिएको हो जतिबेला म त्रिचन्द्र कलेजमा पढ्दै थिएँ । उतिबेला खुप राम्रो लेखेँ भनेर मख्खमख्ख अति मख्ख परेको थिएँ । किनभने यसले देवकोटा शतवार्षिकी निबन्ध प्रतियोगिता जितेर दश हजार र ताम्रपत्र भिडाइदिएको थियो म नाथेलाई । छ वर्षपछि पढ्दा त एकदम झुरै लाग्यो । पुनर्लेखन गर्न आवश्यक ठानिनँ, मेरो प्रारम्भिक लेखन झल्काओस् भनेर । म अहिले त्रिचन्द्रमै पढाउँछु, यो निबन्ध लेख्दा भने त्यहीँ पढ्थेँ । केटौले जोसको भावुक विद्यार्थीपनले भरिएको यो निबन्ध देवकोटाकै ‘के नेपाल सानो छ ?’ नाउँको पुरानै बोतलमा भरिएको नयाँ रक्सी हो । शिक्षकपन अर्थात् गम्भीरता, वस्तुनिष्ठता, आलोचना, परिपक्कता कसमेकम यसमा छैन । यसलाई देवकोटाकै भावुकता र काल्पनिकतातिर मोडिएको टापटिपे विद्यार्थीको छिपछिपे शब्दचित्र ठानिदिनुहोला । पढिदिनुभएकामा धन्यवाद । गल्ती औंल्याइदिई मलाई सच्चिने मौका दिनुभयो भने झनै आभारी हुनेछु ।) [email protected]

(आचार्यको बुद्धिविलास व्लगबाट देवकोटा जन्मजयन्तीको सन्दर्भमा साभार गरी प्रकाशन गरिएको-सम्पादक) 

प्रकाशित मिति : १० कार्तिक २०७६, आईतवार १२:१६
प्रतिक्रिया दिनुहोस्