Logo

तीन वर्षदेखि इलाका प्रशासन बन्द, स्थानिय बासिन्दा मारमा



६ कात्तिक, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ । कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् । कर्मचारी नहुँदा ताजाकोट, चङ्खेली, अदानचुली, सर्केगाड गाउँपालिकाका बासिन्दा सदरमुकाम सिमकोट धाउन बाध्य छन् । सरकारले साविक १० गाउँ विकास समितिका बासिन्दालाई लक्षित गरी विसं २०७३ असार ३० गते इलाका प्रशासन कार्यालय स्थापना गरेको हो ।

इलाका प्रशासन कार्यालयबाट प्राप्त हुने नागरिकता र सिफारिश लिन यहाँका चार गाउँपालिकाका बासिन्दा चारदेखि पाँच दिन पैदल हिँडेर जिल्ला प्रशासन कार्यालय सिमकोट पुग्ने गरेका छन् । इलाका प्रशासन कार्यालय सर्केगाड भनेर बोर्ड मात्रै टाँगिएको भएता पनि काम सञ्चालनमा आउन सकिरहेको छैन । इलाकाबाट हुने सेवासुविधा यहाँका बासिन्दाले अहिलेसम्म नलिएको बताएका छन् । नागरिकता र राहदानीको सिफारिश लिन सदरमुकाम सिमकोट नपुगी सुख छैन ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले केही वर्ष पहिला निमित्त कार्यालय प्रमुखका रूपमा नायबसुब्बा भीम रोकायालाई खटाएको थियो । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएपछि रोकायालाई पुनः जिल्लामै तानेको थियो । जिल्ला प्रशासन कार्यालयमै कर्मचारी अभाव भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताउनुभयो । नायबसुब्बा, खरिदार, कम्प्युटर अपरेटरको अभाव रहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको दक्षिण क्षेत्रमा रहेका चार गाउँपालिकाका नागरिकले इलाका प्रशासन कार्यालयबाट सेवा पाउन नसकेपछि चारदेखि पाँच दिनको पैदल हिँडेर सिमकोट पुग्ने गरेको ताजाँकोट गाउँपालिका–५ का खड्क बुढाले बताउनुभयो । “इलाका प्रशासनको बोर्ड टाँसेको मात्रै देखिन्छ, सामान्य कामका लागि सिमकोट नै धाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । यहाँका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिश, नागरिकता सिफारिश लिएर आवत–जावत गरी आठ दिन लाग्ने गरेको छ । ओहोरदोहर गर्दा आठ दिन समय मात्रै नभई रु पाँचदेखि सात हजार खर्च हुने गरेको बुढाले बताउनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०९:०१
प्रतिक्रिया दिनुहोस्