१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

सडकको विकासमा नेपाल अब सुरूङ युगमा प्रवेश गर्योः पूर्व प्रधानमन्त्री खनाल (अन्तर्वार्ता)


४ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सडकको विकासमा नेपालमा अब सुरूङ युगको सुरूवात भएको बताएका छन । दैनिकी डटकमसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री खनालले धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग शिलान्यासको सन्दर्भ जोड्दै नेपाल सुरूङ युगमा प्रवेश गरेको बताए । खनाल तीनै व्यक्ति हुन जसले प्रधानमन्त्रीको कुर्सीमा बस्दा पहिलो पटक यही सुरूङमार्ग बनाउने निर्णय गरेका थिए । २०७६ साल माघ २० गते खनालले नौविसे-नागढुंगा सुरूङमार्ग बनाउने निर्णयमा हस्ताक्षर गर्दै प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।

खनालले दैनिकीसँग १० वर्ष अघि आफैँले गरेको निर्णय ढिलै भए पनि कार्यान्वयन भएर शिलान्यासको चरणमा पुग्दा ज्यादै खुशी लागेको बताए । उनले भने ‘म देशको प्रधानमन्त्री थिएँ । देशको अवस्था हेरेँ, राजधानी व्यवस्थित गर्नुपर्ने चुनौति देखेँ, मैले विभिन्न कुराहरू सोचेँ, साथीहरूसँग परामर्श गरेँ, यही बीचमा डाँडाकाँडा धेरै भएको देशमा सुरूङ मार्ग उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो । काठमाडौँबाट बाहिर निस्कने मुख्य नाकामा सधैँ जाम हुने र त्यसले सहर समेत अस्तव्यस्त भएको विषयलाइ मध्यनजर गर्दै नागढुंगामा सुरूङ निर्माण गर्ने पहिलो निर्णय गरेँ ।’

पूर्व प्रधानमन्त्री खनालले भने मैले कल्पना गरेको सुरूङमार्गको विषय आज व्यापक बन्दै गएको बताए  । देशका १३ स्थानमा सुरूङमार्गको सम्भाव्यता अध्यननको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरिरहेको जानकारी दिँदै सडकको सुरक्षा र वातावरणको सुरक्षा दुबैका लागि सुरूङमार्ग हितकर हुने बताए । उनले नागढुंगाकै सुरूङ बन्ने चरणमा पुग्न पनि १० वर्ष नलाग्नुपर्ने भन्दै ढिलै भएपनि सुरू भएको यस परियोजना सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनीले जापानी कम्पनीले ठेक्का पाएको सन्दर्भ उल्लेख गर्दै ४२ महिनामै सुरूङ मार्गको निर्माण हुने विश्वास पनि व्यक्त गरे ।

धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास आज प्रधानमन्त्री कपी शर्मा ओलीले गर्दैछन । काम थालेको साँढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको लागत १५ अर्ब २५ करोड लाग्ने अनुमान गरिएको छ । करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का सम्झौता भैसकेको छ । सडक विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २।३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबिसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने छ । पूरा अन्तर्वार्ता तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ०९:०२