२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुग्यो, एसिया प्रशान्त क्षेत्रमा पहिलो


३० असोज, काठमाडाैँ । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ ।

नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ । पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो ।

प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ । ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । १० लाख पर्यटक भिœयाउने वर्षाैंको लक्ष्य नेपालले सोही वर्ष पूरा गरेको थियो ।

सन् २०१७ मा नेपाल भित्रिने पर्यटक सङ्ख्या नौ लाख ४० हजार थियो । त्यस्तै सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागको तथ्याङ्क छ । सन् २०१६ र २०१७ को तुलनात्मक पर्यटक सङ्ख्याको वृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो ।
नेपालले लगातार दुई वर्ष पर्यटक आगमनमा करिब २५ प्रतिशतकै वृद्धिदर हासिल गर्न सफल भएको हो । सन् २०१९ को अगस्टसम्म सात लाख ४२ हजार छ सय पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्क छ ।

नेपालले सन् २०२० लाई भ्रमण वर्ष नै घोषणा गरी २० लाख पर्यटक भिœयाउने तयारी गरेको छ । यसका लागि छुट्टै सचिवालय नै स्थापना गरेर तयारीको प्रक्रिया अगाडि बढाइएको छ । भ्रमण वर्ष नै लक्षित गरेर भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने कामलाई तीव्र पारिएको छ । सरकारले २० लाख पर्यटक भिœयाउन सामाजिक सञ्जालमा आधिकारिक लोगो प्रयोगदेखि विदेशमा रहेका नेपालीलाई त्यहाँका पर्यटक नेपाल पठाउने पहल गर्नसमेत आग्रह गरेको छ । यो समाचार विश्वास रेग्मीले गोरखापत्र दैनिकमा लेखेका छन । 

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार ०७:१२

https://srdb.com.np/