२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नेकपामा अर्को विपत्तिः मन्त्री बन्ने तयारीमा रहेका दोलखाका सांसद पार्वत गुरूङविरूद्ध पक्राउ पुर्जी


२९ असोज, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं दोलखाका संघीय सांसद पार्वत गुरूङका विरूद्धमा पक्राउ पुर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग गरेको भन्ने अभियोगको मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले गुरूङका विरूद्धमा असोज ८ गते नै सांसद गुरुङको नाममा पक्राउ पुर्जी तामेल गरेको नेपाल म्यागेजिनले खुलासा गरेको छ ।

नेपालका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काले सांसद गुरुङका नाममा जारी भएको पक्राउ पुर्जी गाउँपालिकाको छाप लगाएर ८ असोजमा बुझेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनजित तामाङले  बताएका छन् । निरीक्षक तामाङले भनेका छन, “माननीयज्यूले भन्नुभयो- मलाई थाहा छ, यो ३५ दिने पुर्जी हो । गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्कालाई बुझाउनुहोस् । त्यसपछि अध्यक्ष खड्कालाई बुझाएको हुँ ।”

वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । नेकपाले मन्त्रिपरिषद् हेरफेरको क्रममा मन्त्री बनाउने तयारी गरेका गुरूङको विरूद्धमा पक्राउ पुर्जी जारी भएपछि शीर्ष नेताहरू भने अचम्मित बनेका छन । कतिपयले यसमा पूर्वमाअोवादीको खेल रहेको बताउने गरेका छन । दोलखामा पूर्व एमाले र पूर्व माअोवादीको बीचमा व्यापक कटुता रहेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १७:५०