१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढ्याे


– कृष्ण न्यौपाने

२७ असोज, दमौली । मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो । असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमितिका सदस्य वैश गुरुङले जानकारी दिनुभयो । भदौसम्म विदेशी पर्यटक नआउने बन्दीपुरमा असोज मध्यदेखि भने दैनिक तीन/चार सय पर्यटकको आगमन भइरहेको गुरुङले बताउनुभयो ।

“भदौसम्म स्वदेशी पर्यटकको मात्रै चहलपहल हुन्छ, असोजदेखि भने विदेशी पर्यटक राम्रै सङ्ख्यामा बन्दीपुर आउँछन्”, गुरुङले भन्नुभयो । गुरुङका अनुसार चाडपर्वका कारण घुम्ने संस्कृतिको विकास भएकाले स्वदेशी पर्यटकको चाप पनि उल्लेखनीय रहेको छ । “दशैँ, तिहारलगायत सार्वजनिक बिदाका कारण बन्दीपुरमा यतिबेला दैनिक ५०० भन्दा बढी स्वदेशी पर्यटक आइरहेका छन्,” गुरुङले भन्नुभयो । बन्दीपुर घुम्न आएकामध्ये अधिकांश पर्यटकले बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् ।

बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिलेजलगायत साना ठूला गरी ५७ होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरका होटलमा करीब १५० भन्दा बढीले रोजगारी पाएका छन् । घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिने गरिएको छ ।

यहाँ ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार १२:१६