१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

क्रिकेट संघ क्यानमा कांग्रेस नेता चतुरबहादुर चन्दको प्यानल नै विजयी


११ असोज, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा नेपाली कांग्रेस वैतडीका उपसभापति चतुरबहादुर चन्दको प्यानल नै विजयी भएको छ । चन्दले अध्यक्षमा क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई दुइतिहाइ मतले पराजित गरे । शनिबार काठमाडाैँमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरे भने उनको प्रतिद्वन्द्वी पाण्डेले १५ मतमात्र प्राप्त गरे । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा समेत चन्द समूहका उम्मेदवार विजयी भए ।

क्यान उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन सिंह विजयी भएका छन । श्रेष्ठले ४१ तथा उनका प्रतिद्वन्द्वी मिङ्मा डण्डू शेर्पाले १७ मत प्राप्त गरे । सचिवमा प्याकुरेलले ४३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत प्राप्त गरे । कोषाध्यक्षमा सिंहले ४५ मत प्राप्त गरे भने उपेन्द्र भट्टराईले १२ मत प्राप्त गरे ।

यस्तै केन्द्रीय सदस्यमा प्रदेश १ बाट कैलाश विष्ट र प्रदेश ३ बाट अमितवीर पाण्डे निर्वाचित भए । खुलातर्फ केन्द्रीय सदस्यमा वीरेन्द्रबहादुर चन्द, दुर्गाराज पाठक, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र करन महोत्रा क्षेत्री निर्वाचित भए । उनीहरू सबै चन्द समूहका हुन । यसअघि शनिबार नै केन्द्रीय सदस्यमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्तविक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्विरोध निर्वाचित  भएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार २१:०५