१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नुवाकोटको झोलुङ्गे पुलमा अख्तियारको चासो, कांग्रेस नेता बहादुरसिंह लामाले पुल काटेको खुलासा


२० भदौ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५  र बेलकोटगढी नगरपालिका वडा नम्बर ८ जोड्ने झोलुङ्गे पुल नेपाली कांग्रेसका नेता सांसद बहादुरसिंह लामाको निर्माण कम्पनी हिम्दुङ एण्ड थोकर कम्पनीले काटेको खुलासा भएको छ । झोलुङ्गे पुल काटिएको र त्यसपछि विदुर ५ का वडा अध्यक्ष शिवचित्रकार र बेलकोटगढी ८ का वडा अध्यक्ष भोजप्रसाद पुडासैनीले बेचेर ३५/३५ हजार रूपैयाँ बाँडेर वडाको खातामा दाखिला गरेको विषय बाहिरिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

केहीदिन अघि आयोगको टोलीले फिल्डको समेत अनुगमन गरेको छ । आयोगले अनुसन्धान सुरू गरेपछि झोलुङ्गे पुल प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको हो । नेपाली कांग्रेसका नेता लामाले  गल्छी त्रिशुली मैलुङ सडक खण्डको विभिन्न स्थानमा पुल निर्माणको ठेक्का पाएका छन । सोही अनुसार लामाले गेर्खु खोलामाथि बनाउनुपर्ने पुल खोला छलेर बारिमा बनेको चर्चा चलिरहेको समयमा देविघाटको झोलुङ्गे पुलका सम्बन्धमा पनि उनै लामा जोडिएका छन । यसअघि उनैले त्रिशुलीमाथि निर्माण गरिरहेको पुल हावालाे उडाएको थियो । 

लामाको कम्पनीले पुल बनाउने नाममा कुनै पक्रिया नै नपुर्याइ पुल काटेर खोलामा फालेको स्थानीयले अख्तियारको टोलीलाइ बताएका छन । दैनिकीको सम्पर्कमा आएका स्थानीयहरूले पनि झोलुङ्गे पुल लामाले काटेको र काटेर फालिएको पुल दुइ वडाअध्यक्षले बेचेर पैसा बाँडेको बताएका छन । यसअघि सडक आयोजनाले पुल काटेको बताइएको थियो । आयोजनाले पनि पुल हिम्दुङ एण्ड थोकर कम्पनीले नै काटेको पुष्टि गरेको छ ।

यसअघि सडक आयोजनाका प्रमुख नारायण भण्डारीले तत्कालीन प्रमुख सुवोधकुमार देवकोटालाई उधृत गर्दै आयोजनाले उक्त झोलुङ्गे पुलमा छड्के नजरसमेत नलगाएको बताएका थिए । लामाको कम्पनीले आयोजनालाइ समेत कुनै सुइँको नदिइ पुल काटेको प्रष्ट भएको छ । पुल काट्न ठूलो अपराध हो । नियम विपरित पुल काटिएको र नियम विपरित नै पुल बेचिएपछि आयोगले सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको छ ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नदीजन्य सामाग्री तस्करी गराउन नपाएपछि नियोजित रूपमा समाचार लेख्न लगाएको भन्दै नुवकोटको नेकपा वृतमा चर्चा चलिरहेको छ । कतिपयले पण्डितलाइ पार्टीले कारबाही गर्नुपर्ने माग समेत गरेका छन । उनीहरूले जिल्ला कमिटीको बैठक बसेपछि देखाइ दिने भन्दै चिया पसलमा चर्चा गर्न थालेका छन ।

लामाले नियमविपरित काटेको झोलुङ्गेपुल ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार ११:३४