१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गर्योः ओली


६ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको बताएका छन । काठमाडौंकाे एक हाेटलमा साेमबार भएकाे नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)बीचकाे द्धीदिवसीय विचारधारात्मक छलफल कार्यक्रमकाे उद्घाटन सत्रको प्रमुख अतिथिको रूपमा मन्तव्य गर्दै ओलीले चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि भएको बताउँदै त्यसलाई अनुशरण गर्न सकिने बताए ।

प्रधानमन्त्री ओलीले भने “चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सीलाई जान्छ । उहाँको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, वुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।”

आपसी सहकार्य र विचारको आदानप्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने,“आक्रामकरुपमा बढिरहेको विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हाबी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, माक्र्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । माक्र्सवादलाई हरेक देशले सिर्जनात्मकरुपमा प्रयोग गर्नुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्षण नयाँ अभ्यासको थालनी सावित भएको छ ।”

चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आसन्न जनवादी गणतन्त्र चीनको ७० औँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याए । उनले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधारणा पारित गरी कार्यान्वयनमा ल्याउनुले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदानप्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाइ गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार २३:०५