१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बामदेवमा पराजयको ‘फोविया’ भन्छन, ‘कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो’


५ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष एवं संगठन विभागका प्रमुख बामदेव गाैतमले कास्कीबाट चुनाव लड्नुअघि नै पराजयको भय प्रस्तुत गरेका छन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गाैतमले वर्दियामा पराजित भएको मान्छे कास्कीमा निर्वाचन उठ्नु भनेको फेरि पनि पराजित हुनु हो भनेर आफ्नो धारणा प्रस्तुत गरेको उनी आफैँले बताएका छन । उनले बैठकमा बोलेका कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन ।

गाैतमले फेसबुक मार्फत यसो भनेका छन ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ।

गौतमले अघि भनेका छन ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु । उनको समाजिक सञ्जाल मार्फत सार्वजनिक भएको पार्टी बैठकमा राखेको अडान हेर्दा उनले पराजयको फोविया प्रस्तुत गरेर आफ्नो रहर भन्दा पनि पार्टीको करले चुनाव लड्न चाहेको पनि स्पष्ट सन्देश दिएका छन । उनले स्थानीय उम्मेदवारलाइ नै प्राथमिकता दिन अनुरोध गरेका छन । यद्यपी उनले यसअघि भन्दै आएको पार्टीले निर्णय गरेको अवस्थामा चुनाव नलड्ने भनेका छैनन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि संगापुरमा रहेकै समयमा महासचिव विष्णु पौडेल र गौतमबीच कास्कीमा गौतमले नै उपचुनावमा उम्मेदवार हुने सहमति भएको थियो । अहिले नेकपाको सचिवालयका ९ जना सदस्यमध्ये ८ जना वामदेव गौतमको पक्षमा रहेका छन । यसअघि काठमाडौँ ७ मा रामविरले राजिनामा दिएर बामदेवका निम्ति बाटो खोलिदिन्छु भनेको समयमा खुलेरै बामदेव गौतमको विरूद्धमा अभियान चलाएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भने यसपटक पनि बामदेवले कास्कीमा चुनाव लड्ने कुरामा सकारात्मक छैनन् ।

पार्टी भित्रका यस्तै असन्तुष्टिहरूको व्यवस्थापन गरेर पार्टीको सम्पूर्ण बलमा चुनाव लड्नका लागि एउटा वातावरण तयारहोस भन्ने हेतुले गाैतमले सचिवालयको बैठकमा यस्तो प्रस्ताव राखेको गाैतम निकट स्रोतको दाबी छ । प्रचारका निम्ति बामदेव रहरले गएको भन्दा पनि कास्कीको पार्टीले नै मागेर बोलाएको भन्ने बनाउन सकेको खण्डमा शान्दार ढंगले चुनाव जितिने उनीहरूको निष्कर्ष रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आईतवार ०९:१७