१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

शिक्षाको रुपान्तरणका लागि शिक्षकहरुले नै अगुवाइ गर्नुपर्छः उपप्रधानमन्त्री पोखरेल


२२ भदाै, काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको जनशक्तिलाई विश्वप्रतिष्पर्धी बनाउन शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको औँल्याउनुभएको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि शिक्षाको रुपान्तरण जरुरी रहेको उल्लेख गर्दै उहाँले उत्पादनमूलक, प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले आजको सन्दर्भमा सामान्य शिक्षा जीवनोपयोगी नहुने जिकिर गर्नुभयो । “सरकारले शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राखेको छ, अब प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ, उत्पादन, श्रम, रोजगारी र स्वाभिमानसँग गाँसिएको कुरा हो”, मन्त्री पोखरेलले भन्नुभयो ।

आगामी दिनमा जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने अठोटका साथ राज्यले निर्माण भएको शिक्षाको जगमा टेकेर सरकार अगाडि बढेको उहाँले बताउनुभयो । ‘हामी सबैको प्रण, शिक्षा प्रणालीको सबलीकरण’ भन्ने नाराका साथ दिवस मनाइएको थियो । उहाँले शिक्षामा सबैको समान पहुँच सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्ने सरकरको मूल लक्ष्य रहेको भन्दै प्रणाली परिवर्तन गरेपनि जनताको चाहनाअनुसार सेवा प्रदान गर्न नसक्दा प्रश्न उब्जिएको उल्लेख गर्नुभयो ।

सन् २०२५ सम्ममा विकसित राष्ट्र बनाउने १५औँ आवधिक योजना कार्यान्वयनको चरणमा रहेको र सन् २०३० सम्ममा लैङ्गिक समानता हासिल गर्ने गरी गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने योजना कार्यान्वयनको थालनी भएको उहाँले बताउनुभयो । उक्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै सरकार अझै रुपान्तरणको अभियानमा लागेको बताउनुभयो ।

विगतमा ‘साक्षर नेपाल’ भनेर अभियान चलाइएकामा आगामी दिनमा ‘शिक्षित नेपाल’ भन्ने नाराका साथ अभियान शुरु हुन लागेको जानकारी दिँदै उहाँले शिक्षाको सुधारका लागि सार्वजनिक विद्यालय सबलीकरण कार्यक्रम घोषणा गरिसकेको बताउनुभयो । सिकाइ केन्द्रित शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अनुसन्धानमूलक, वैज्ञानिक, व्यावहारिक, बालमैत्री शिक्षा अवलम्बन गर्नु जरुरी छ, मन्त्रालय त्यही बाटोमा छ ।”

उहाँले शिक्षाको रुपान्तरणका लागि शिक्षकहरुले अगुवाइ गर्नुपर्नेमा जोडदिँदै राष्ट्रिय शिक्षा नीति पारित हुने तयारीमा रहेको र पाठ्यक्रम परिमार्जन गर्न लागेको समेत जानकारी गराउनुभयो ।

उत्कृष्ट विद्यालय पुरस्कृत

दिवसका अवसरमा आयोजित उक्त समारोहमा उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ । यसपटक सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९१२ कक्षा० मा राष्ट्रियस्तरमा अमरसिंह माध्यमिक विद्यालय पोखरा प्रथम, सुकुना माध्यमिक विद्यालय मोरङ दोस्रो र भवानी विद्यापिठ माध्यमिक विद्यालय पर्वत तृतीय हुन सफल भएका छन् ।

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय कास्की प्रथम, नेपाल प्रहरी स्कुल काभ्रे दोस्रो र सेन्टजेभियर्स कलेज काठमाडौँ तृतीय हुन सफल भएको छ । उत्कृष्ट भएका ती विद्यालयलाई आजै क्रमश रु तीन लाख, दुई लाख र एकलाख पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० मा सामुदायिक विद्यालयतर्फ मेघा माध्यमिक विद्यालय झक्तपुर प्रथम, रेसुङ्गा माध्यमिक विद्यालय गुल्मी दोस्रो र तरुण माध्यमिक विद्यालय काठमाडौँ तेस्रो हुन सफल भएको छ । संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाडौँ प्रथम, नेपाल पुलिस क्लब काभ्रे दोस्रो र भ्याली भ्यू इङ्लिस स्कुल काठमाडौँ तेस्रो भएका छन् । उत्कृष्ट भएका ती विद्यालयले पनि क्रमश रु तीन लाख, रु दुई लाख र रु एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट छनोट भएका आङ्गिक शिक्षालयमध्ये बालाजु स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी, साझेदारीका रुपमा सञ्चालित शिक्षालय तथा संस्थामध्येबाट तानसेन स्कुल अफ हेल्थ साइन्स पाल्पा र सामुदायिक विद्यालय जनज्योति माध्यमिक विद्यालय सिन्धुली उत्कृष्ट भई रु एक÷एक लाख पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई आङ्गिकतर्फ पुल्चोक क्याम्पस ललितपुर, सामुदायिकतर्फ जेएस मुरारका बहुमुखी क्याम्पस सिराहा र निजीतर्फ काठमाडौँ बर्नहार्ट कलेज बाफल उत्कृष्ट भई नगद रु दुई लाख ५० हजारका दरले पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार २०:३८