१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मानव सेवा आश्रममा वृद्धवृद्धा, असहाय र असक्तसँग टान पश्चिमाञ्चलको स्थापना दिवस


२० भदाै, पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आफ्नो २७ औँ स्थापना दिवस मानव सेवा आश्रममा वृद्धवृद्धा, असहाय र असक्तसँग मनाएको छ । पदयात्रा व्यवसायीको छाता सङ्गठन टानले व्यावसायिक हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै आफ्नो स्थापना दिवस मानव सेवा आश्रममा मनाएको हो । आश्रममा आश्रित ९६ जनालाई खाद्यान्न, जुस, नगद सहयोग गरेर मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

मानव चेतनशील प्राणी भएकाले मानवीयतालाई जहिल्यै केन्द्रविन्दुमा राखेर सामाजिक सेवाभावबाट अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । मानवीयताको भावनलाई जागृत गराउन आश्रम आएर स्थापना दिवस मनाएको टानका महासचिव जीवन सापकोटाले बताउनुभयो । आश्रमका संयोजक होमनाथ तिमिल्सिनाले मानव–मानवबीचको सम्बन्ध र दूरीलाई नजिक ल्याउन सक्नु नै उत्कृष्ट सेवा भएको बताउनुभयो । एक–अर्काप्रतिको माया र सम्मान अनि मानवीयताले समाजलाई सकारात्मकता पैदा गर्ने उहाँको भनाइ थियो । स्थापना दिवसमा आश्रम सम्झेकोमा संस्थालाई आभार व्यक्त गर्नुभयो ।

सोही अवसरमा टानले आफ्नो संस्थाका संस्थापकलाई समेत सम्झेको छ । अध्यक्ष हरि भुजेल नेतृत्वको कार्यसमितिले बिहीबार संस्थापक अध्यक्ष रामबहादुर श्रेष्ठलाई उहाँकै निवासमा पुगेर भेटी खादा लगाएर सम्मान गरेको संस्थाका उपाध्यक्ष सुशील पौडेलले बताउनुभयो । “इतिहास बिर्सनु हँुदैन, अग्रजको योगदानकै कारण संस्थाले आज २७ औँ स्थापना दिवस मनाउन सफल भएको हो”, पौडेलले भन्नुभयो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार ०८:४१