१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल कम्युनिष्ट पार्टीमा कुनै विवाद छैन


६ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र कुनै विवाद नभएको बताउनुभएको छ । रिपोटर््र्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेताहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई विवाद बनाउन नहुने बताउनुभयो । स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र भएका विचार तथा बहस आन्तरिक रुपमा हल गर्न सकिने बताउनुभयो ।

उहाँले नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्नै नसकिने नभई आन्तरिक रुपमा समाधान गर्ने खालका रहेको बताउनुभयो । नेता पौडेलले पार्टीभित्र आन्तरिक विवाद भयो भन्ने बाहिरी हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो । “नेकपा जनवादी केन्द्रियतामा आधारित भएर चल्ने पार्टी भएकोले पार्टीको नियामावली, विधान र प्रतिवेदनअनुसार नै अघि बढ्छ”, उहाँले भन्नुभयो ।

यस्तै नेकपाका नेता आनन्द पोखरेलले कम्युनिष्ट आन्दोलनमा सानातिना बहस र छलफल हुनु स्वभाविक र सामान्य विषय भएकोले अहिले पनि पार्टीभित्रको बहस तथा छलफल यति धेरै चर्चा पाउनुपर्ने विषय नभएको बताउनुभयो । पार्टी सही दिशामा अघि बढिरहेकोले पार्टीभित्र हुने छलफल र बहसले एकतामा फरक नपर्ने उहाँको भनाइ थियो । नेता पोखरेलले सहमतिमा नै एकताको बाँकी काम पूरा हुन थालेको बताउनुभयो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १९:३९