Logo

नेकपाले टुंग्यायो सवै बिभागको नेतृत्व : सातै प्रदेशमा थपिए २ सहइञ्चार्ज



३१ साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले पूर्वसहमति अनुसार नै नेताहरुलाई जिम्मेवारी दिएर केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएको हो ।

बैठकले बरिष्ठ नेता माधवकुमार नेपाललाई बिदेश बिभागको नेतृत्व दिएको छ । सो बिभागको उपप्रमुखमा राम कार्की रहेका छन् । यसैगरी निति तथा अध्ययन प्रतिष्ठान प्रमुखमा झलनाथ खनाल, संगठन बिभागमा बामदेव गौतम र पार्टी स्कूल बिभागमा इश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ । प्रचार बिभाग प्रमुखको जिम्मेवारी प्रवक्ता नारायणकाजी श्रेष्ठले पाएका छन् । यसैगरी अर्थ तथा योजना बिभाग प्रमुखमा सुरेन्द्र पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्यायलाई जिम्मेवारी दिइएको छ ।

आजको बैठकले ३२ ओटा बिभाग र निति अध्ययन प्रतिष्ठानको टुंगो लगाएको हो । बैठकले सातवटै प्रदेशमा २/२ जना सहइञ्चार्ज थप गरेको छ । जसअनुसार प्रदेश १ मा शेरधन राई र नरेश खरेल, प्रदेश २ नागेन्द्र चौधरी र महेन्द्र पावान, प्रदेश ३ मा काशीनाथ अधिकारी र हितमान शाक्य सहइञ्चार्ज भएका छन् ।

यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ र यसोदा सुवेदी गुरुङ, प्रदेश ५ मा बैजनाथ चौधरी, कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश तथा सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी, लेखराज भट्टलाई सहइञ्चार्ज बनाइएको छ ।

बैठकपछि प्रवक्ता श्रेष्ठले जनसंगठन इञ्चार्ज, सहइञ्चार्ज, अरुको निर्णय गर्न बाँकी रहेको बताए । उनका अनुसार जनसंगठनको इञ्चार्जसँगै बिशेष प्रदेश कमिटी, प्रवास संगठनको निर्णय गर्न बाँकी छ । बाँकी कामको टुंगो लगाउन भोलि ४ बजे सचिवालय बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार १५:३१
प्रतिक्रिया दिनुहोस्