१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

‘रवि दाई दुनियाँले तपाईंको असली रूप देख्नेछ’, हेर्नुहाेस् सालिकरामकाे आत्महत्या अघिकाे भिडियाे


२९ साउन, काठमाडाैँ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ। पत्रकार रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्याकाे बाटाे रोजेकाे भिडियाे फेला परेकाे छ । भिडियाेमा शालिकरामले यस्ताे भनेका छन्ः

‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए। तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पर्‍याए।

थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४-५ हजार खर्च हुने कोठाभाडा यताउता सबै त्यसैले पर्‍याउनुपर्ने। प्यारी सम्झना मैले कसरी सक्नु! रवि दाइ मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही कोही दीनदुःखीको उद्दार पनि गर्नुभयो, तर अरूको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रूप देख्नेछ।

मसँग प्रमाण छ आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ। तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्ने छ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२-२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’

आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै अगाडि उनी भन्छन् ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरू डिपेन्डेण्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छौँ भन्दै रालुका गाविस ओखलढुंगाकी केटी अस्मिता कार्की (रूकु)को पछि लगाए। त्यही केटीलाई मैले बीपी स्मृति हस्पितल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान-बिहान पुर्‍याइदिएँ।

पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर पसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’

नुवाकोट बेलकोटगढी ३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्महत्याको बाटो रेजेको विषय राजनीतिक कानुनी र पत्रकारिता क्षेत्रमा चर्चाको विषय बनेको छ। भ्रष्टाचारमा मुछिएका कर्मचारीहरूले एकपछि अर्को गर्दै आत्महत्या गरिरहेको श्रंखलामा पत्रकार पुडासैनीको आत्महत्या नितान्त फरक छ।

कसैको दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन लागू भइसकेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले त्यरी दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना छ। उपदफा (१) मा स्पष्ट भनिएको छ – कसैले कसैलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।

हेर्नुहाेस् भिडियाेः

भिडियाे साैजन्यः नेपाल आज

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १७:५१