१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सहकारी बैंकको १६ औं कारोबार शुभाम्भ दिवस देशभरका शाखामा मनाइने


१२ साउन, पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं कारोबार शुभारम्भ दिवस देशभरका सबै शाखामा मनाइने भएको छ । कारोबार शुभारम्भ भएको दिन साउन १९ गते बैंकका ४४ वटै शाखामा सहकारीका लागि विद्यमान कानुन अवसर र चुनौती विषयक अन्तरक्रिया गरी मनाउन लागिएको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा शनिवार सम्पन्न सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिको संयुक्त वैठकले सहकारी कानुनका बारेमा छलफल गरी सहकारी अभियानलाई थप प्रभावकारी बनाउन देशभर कार्यक्रम गर्ने निर्णय गरेको हो । २०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भएको सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकले २०६१ साउन १९ गतेबाट कारोबार शुभारम्भ गरेको थियो ।

कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित देशभरका शाखाहरुको कार्यक्रम संयोजन गर्नका लागि सञ्चालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र व्यवस्थापनलाई जिम्मेवारी तोकिएको छ । एकै दिन देशभर एउटै विषयमा अन्तरक्रिया गरी कारोबार शुभारम्भ दिवस मनाउने र उक्त कार्यक्रमका लागि बैंकका पदाधिकारी, सदस्य र उच्च व्यवस्थापनका कर्मचारीलाई जिम्मेवारी तोकिएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताउनु भयो ।

सहकारीमार्फत विभिन्न व्यवसाय गर्न चाहने सदस्यहरुलाई सहकारी ऐनसंग बाझिने ऐनहरुका कारण समस्या सिर्जना भएकोले कानुनी अवस्थाका बारेमा सचेतना दिन तथा कानुन संशोधनका लागि समन्वय गर्ने उदेश्यले देशभर एउटै विषयमा अन्तरक्रिया गर्न लागिएको उहाँले बताउनु भयो । ४४ स्थानमा एकै दिन गरिने कार्यक्रममा सिंगो सहकारी अभियान सहभागी हुने उहाँको भनाइ छ ।

सहकारी ऐन अनुसार गर्न पाइने कामहरु पनि अन्य ऐनहरुका कारण सहकारीले गर्न नपाउदा समस्या सिर्जना भएको छ, सहकारीमार्फत व्यवसाय गर्नका लागि अन्य ऐनले पार्ने समस्या समाधानका लागि ध्यानाकर्षण गर्न कार्यक्रम सहयोगी हुने बैंकको ठहर छ । यस्तै बैठकले सहकारी बैंकले सदस्य संघ संस्थाहरुलाई कर्जा लगानी गर्दा लिदै आएको १ प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अनुसार सेवा शुल्क लिन नपाइने व्यवस्था अनुसार सेवा शुल्क नलिने निर्ण भएको बैंकका प्रमुख कार्यकारी अधिकत बद्रीकुमार गुरागाईले बताउनु भयो । उहाँले कर्जा लगानीका समयमा विभिन्न निकायसंग समन्वय लगायतका काम गर्नका लागि व्यवस्थापन शुल्क लिइने बताउनु भयो । चालु पूँजि कर्जा लिने सदस्यले शुन्य दशमलव ७५ प्रतिशत र अन्य कर्जामा शुन्य दशमलव ५ प्रतिशत व्यवस्थापन शुल्क लिने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताउनु भयो ।

देशभरका ११ हजार १ सय २५ वटा सहकारी संघ संस्था शेयर सदस्य रहेको बैंकमा हाल १ अर्ब ५८ करोड शेयर रकम, २८ अर्ब निक्षेप, १९ अर्ब ६० करोड कर्जा लगानी रहेकोछ । चालु आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब शेयर रकम, ३७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी गर्ने लक्ष्य लिएको बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालय कुपण्डोलमा बस्दै आएको नियमित वैठक यस आर्थिक वर्षदेखि हरेक ३ महिनामा प्रदेश स्तरमा गर्ने निर्णय अनुसार पहिलो वैठक गण्डकी प्रदेशमा बसेको र वैठकले कारोबार शुभारम्भ दिवस देशभर मनाउने लगायत महत्वपूर्ण निर्णय गरेको गण्डकी प्रदेशका संयोजक जिसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आईतवार १४:३४