१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विश्वकप क्रिकेटको एसियाली छनोटको अन्तिम खेलमा पराजय व्यहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरियो


१२ साउन, काठमाडाैँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको हार बेहोर्दै नेपाल विश्वकप खेलबाट बाहिरिएकाे छ । १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिएका थिए । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो। सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बल सामना गर्दै ८ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै, ओपनर रोहन रंगाराजनले ३३ बलमा ४९ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र ४ छक्का हिर्काए । विकेटकिपर मनप्रित सिंहले पनि २७ बलमा ४२ रन बनाउँदै सिंगापुरलाई विशाल लक्ष्यतर्फ डोर्याए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए । नेपालका लागि अभिनाष बोहराले कसिलो बलिङ गर्दै ४ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले ३५ रन खर्चिए ।

त्यस्तै करण केसीले ३ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए । आजको खेलमा नेपालका दुई स्पीनर सन्दीप लामिछाने र बसन्त रेग्मी निकै महंगो साबित भए । दुवैले कुनै विकेट लिन सकेनन् र ७ ओभरमा ८८ रन खर्चिए । नेपाललाई हराउँदै सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ । पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आईतवार १०:५७