१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कांग्रेसका शेरबहादुर र विश्वप्रकाशले नसम्झिएका बीपीलाई प्रधानमन्त्री ओलीले यसरी सम्झिए


६ साउन, काठमाडाैँ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ३७ औं स्मृति दिवसका दिन उनले स्थापना गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माहरूले नसम्झिए पनि प्रधानमन्त्री केपी केपी शर्मा ओलीले सम्झिएका छन । बीपी स्मृति दिवसको बिहानै प्रधानमन्त्री ओलीले ट्वीट मार्फत बीपीलाई सम्झिएका हुन ।

प्रधानमन्त्रीले ओलीले कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त  गर्दै भनेका छन्,‘‘नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । समृद्ध नेपाल निर्माण अभियानमा अग्रसर हुन यस अवसरमा सबैलाई आह्वान गर्दछु । ’’ प्रधानमन्त्रीले बीपीलाई सम्झदैँ समृद्ध नेपाल निर्माणका अग्रसर हुन पनि आह्वान गरेका छन ।

त्यस्तै पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि बीपीको स्मरण गरेका छन । उनले लेखेका छन, ‘‘आज बिपी कोइराला स्मृति दिवस। राष्ट्रियता र प्रजातन्त्र एक अर्काको परिपूरक हुन्। राजसंस्था र जनताको एकता नै नेपालको राष्ट्रिय सुरक्षा, स्वतन्त्रता र एकताको अभेद्य कवच हो। राष्ट्रिय मेलमिलाप नीति का सुत्रधार बिपी कोइरालामा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।’’

अन्य सामान्य विषयमा समेत सामाजिक सञ्जालमा टिप्पणी गर्न उद्दत हुने कांग्रेस प्रवक्ता शर्मा र सभापति देउवा दुबैले सामाजिक सञ्जाल मार्फत बीपी नसम्झिएपछि कांग्रेसकै धेरै कार्यकर्ता अलमलमा परेका छन । केही कांग्रेस नेता र कार्यकर्ताले बीपी सम्झिएपनि नेतृत्वले नै नसम्झिएपछि कार्यकर्तामा त्यसको उत्साह देखिएको छैन ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । उनको २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १३:२९