Logo

‘जामनः गुभाजु’ ऐतिहासिक कथा



६ साउन, काठमाडाैँ ।  जीवन्त अभिनयश्याम रिमाल सिद्धहस्त एक तान्त्रिकको जीवनीलाई लिएर नेपालभाषामा बनेको चलचित्र ‘जामनः गुभाजु’ गत वर्ष मङ्सिर ८ गतेदेखि हालसम्म लगातार चलिरहेको छ । अब चलचित्रले ५१ शो मनाउने तयारी पनि गर्दैछ । आदिवासी जनजातीय चलचित्र हुनाले बक्स अफिसमा पर्न नसकिएको भनिए पनि प्रायः शनिबारजसो मात्र प्रदर्शन हुने पाएको चलचित्रले नौ महिनाको अवधिमा करीब सात हजार दर्शक भने पाइसकेको छ । आफ्नै समाजको मौलिक कथा र अभिनय बोकेको चलचित्र राष्ट्रिय चलचित्र पुरस्कारमा नपरे पनि एभरेष्ट इण्टरनेशनल फिल्म अवार्डको मनोनयनमा भने पर्न सफल भएको छ । कथा अठारौँ शताब्दीको हो । प्रताप मल्ल ९जन्म विसं १६८०, राज्यकाल विसं १६९८–१७३१०का पालाका जामनः गुभाजुमा दुनियाँलाई चकित पार्ने शक्ति थियो ।

उनी बेलाबेलामा राजपरिवारका साथै जनताको हात हेर्ने र झारफुक गर्ने कामबाट रोगव्याधि निको त पार्थे नै डोकामा पानी भर्ने जस्ता काम गरेर अचम्मै पार्थे । जप, तप, ध्यान, योग, समाधि, पुरश्चरण आदिमा नित्य संलग्न उनले बिरामीलाई झारफुक गर्ने तथा शिशुहरुलाई घरमै पढाउने पनि गर्थे । लगनटोल नजीक ब्रह्मटोल, मुसुम्बहालका गुभाजुले महिलालाई बोक्सी लगाउने पुरुषलाई चिनी फेरि त्यसो नगर्न वाचा गराउँथे भने भरिएको गाग्रीसमेत नछोईकन खाली गराउन सक्थे ।

मिथक वा किंवदन्तीजस्तै बनेका र ‘कमिक्स’मा मात्र सीमित ऐतिहासिक पात्र जामन गुभाजुलाई करीब दुई घण्टामा चिनाउन तथा उनको तन्त्रसाधनाको प्रभाव र अवस्था संकिपामा देखाउन निर्देशक रवि सायमीको टोलीले तीन वर्षभन्दा बढी समय लगायो । कथानक चलचित्रमा यो नै उहाँको पहिलो निर्देशन हो । जेस्सी पेन्नी इण्टरटेन्टमेण्ट प्रालि र वाइल्ड बुल्स प्रोडक्सन ९राजेन्द्रभक्त श्रेष्ठ र मन्दिरा मानन्धर०ले संयुक्त रुपमा निर्माण गरेको ‘जामन गुभाजु’का प्रमुख पात्र सुशील राजोपाध्याय भन्नुहुन्छ, “सुनिरहेकै कथा भएकाले मलाई चलचित्रमा अभिनय गर्न गाह्रो भएन ।”

विसं २०३८ देखि डबलीहरुमा नाटक र २०६१ देखि पर्दामा देखिनुभएका र जामन गुभाजुको कथा, पटकथा र संवाद लेख्नुभएका यसअघि ‘माया रे रत्न’, ‘हाकु सुपाय्’ ९कालो बादल०, च्वापु फय्’९ हिमआँधी०, ‘कीर्तिपुरः द लिजेण्ड अफ कीर्तिलक्ष्मी’, लगायत २५ नेपालभाषी र नेपाली चलचित्र पाँच गरी करीब ३० वटामा अभिनय गरिसक्नुभएको छ । जामनः गुभाजु चलचित्रमा गुभाजुकी पत्नीको भूमिका सरस्वती मानन्धर र राजा प्रताप मल्लको भूमिका पत्रकार पुष्कर माथेमाले निर्वाह गर्नुभएको छ । अन्य पात्रमा उदेन न्हुँसायमी, साकार पन्त आदि हुनुहुन्छ ।

“भूमिका च्यालेञ्जिङ भए पनि राम्रै गरेँजस्तो लाग्छ, केही प्राविधिक कुरा अमिल्दो भए पनि दर्शकले मन पराइदिएकामा खुशी नै छु”, नायक राजोपाध्यायले भन्नुभयो । काठमाडौँ, बन्दिपुर, चित्लाङ र सौराहा९हुस्सुका लागि० मा छायाङ्कन गरिएको सो चलचित्रका गुभाजु पात्र राजोपाध्याय, उनकी पत्नी बनेकी सरस्वती मानन्धर र अन्य पात्रको जीवन्त र स्वाभाविक अभिनय छ । तत्कालीन गीत र नृत्य सुहाउँदिला छन् । छायाङ्कन भवानी शिलाकार, सङ्गीत बालकृष्ण वंशी तथा गायन गौतमदास मानन्धर, रत्नशोभा महर्जन, सतीश महर्जन, सरिता शाही र दीपेन्द्र वज्राचार्यको छ । नेपालभाषा नबुझ्नेले पनि अङ्ग्रेजी सबटाइटलबाट कथा राम्ररी बुझन् सक्छन् । यसअघि थुप्रै म्युजिक भिडियो निर्देशन र छायाङ्कन गरिसक्नुभएका र प्रस्तुत चलचित्रका निर्देशक रवि सायमी भिज्युअल एफेक्ट र कलर ग्रेडिङबाट चलचित्रमा तत्कालीन परिवेशलाई देखाउन सकिएको बताउनुहुन्छ ।

गोरखा भूकम्पबाट ढलेको काष्ठमण्डप र अन्य सम्पदा, डोकामा पानी भराइ, चिलको रुप भिएफएक्स प्रविधिबाट गरिएको हो । चलचित्रमा भारतबाट आएका एक चटकेले जादु देखाएर केटाकेटीलाई भाँडेको र धन असुलेको देखी गुभाजुले डोकामा पानी भरेर चटकेसामु प्रस्तुत गरेका थिए । चटकेले आफ्नो मन्त्रले डोकाको पानी झारेपछि गुभाजुले चील बनेर चटकेले बालकको झिकेको मुटु उडाएर लगेका थिए भने रुखलाई खुट्टाका औँलाले नुहाएर भेंडाबाख्रालाई घाँस खुवाउने जस्ता काम देखाएका थिए । गुभाजुकी श्रीमतीले गोडा बालेर रक्सी पारेको घटना त झन् अद्भुत छ । उनले खडेरी लागेका बेला कोही व्यक्ति जान नसक्ने स्वयम्भूस्थित शान्तिपुरमा राजालाई पठाई भित्रबाट नवनागको रगतबाट लेखिएको एक ग्रन्थ९पौभा० निकाल्न लगाएका थिए जसबाट वर्षा भएको थियो ।

आगमघरमा जनताको सुखका लागि पुरश्चरणमा बसेका गुभाजु धेरै समयसम्म नफर्केकाले पतिको वाचा तोडी गुभाजुपत्नी भित्र पस्दा गुभाजुले शरीर छाडिसकेका थिए । उनको दाहसंस्कार भयो । दाहसंस्कारपछि पनि उनलाई स्वयम्भूबाट फर्केको देखेर मानिसहरु अचम्भित भए । त्यसैले उनले शरीर सधैँका लागि त्यागिदिए तर उनले देहत्याग गर्नुअघि भनेका थिए, “जबसम्म यहाँ काँ९अन्धो, खु९लँगडो० र ढुसी९कुप्रो० मानिस हुन्छन्, तबसम्म म मरेकोे हुन्न ।” चलचित्र निर्देशक सायमीका अनुसार जामन गुभाजुको टोलमा अहिले पनि दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति र कुप्रो व्यक्ति भएकाले उनी अहिले जीवित ठानी वर्षको एक पटक टोल र स्वयम्भूमा उनको पूजा गरिन्छ । कुमारीघर, बाह्रवर्षे इनार९जप तुँ० र कङ्केश्वरीबाट सुरुङ हुँदै शान्तिपुर पुग्न सकिने भनाइ छ ।

त्यतिबेला नाम चलेका तान्त्रिकमा सुरत वज्र, लीला वज्र, शाश्वत वज्र, मञ्जु वज्र थिए । मञ्जु वज्र नै जामन गुभाजु हुन् । गोरखनाथ र बन्धुदत्त पनि कुनै समयका सिद्ध र तान्त्रिक नै थिए । वज्रयान र तान्त्रिक शक्तिको कथा बोकेको यो चलचित्र अन्तरराष्ट्रियस्तरमा लैजान सक्ने पनि देखिएको छ । गोसाइँकुण्ड तीर्थस्थलको कथा समेटेको ‘शिलु’पछि राजमती, पटाचारा, कृषा गौतमी, टुटाँ९लौरो०, ‘अन्ज मिखा’९गाजलु आँखा० आदि नेवारी चलचित्र प्रदर्शनमा आएका छन् र यस्ता चलचित्र बन्ने क्रम अघि बढ्दैछ । यसअघि सिटीम्याक्स बागबजार, गुण ग्वार्को, बाराही मुभी भक्तपुर र राइजिङ मल कमलादीमा शनिबारजसो प्रदर्शन भइसकेको चलचित्र यही साउन ११ गते नेवारी बस्ती साँखु र साउन ३० गते जनैपूर्णिमामा टोखामा प्रदर्शन हुने राजोपाध्यायले बताउनुभयो ।

नेपालका मौलिक कथामा बन्ने यस्ता चलचित्रलाई बक्स अफिसमा पार्नुपर्ने देखिन्छ । धेरै वर्ष अध्ययन अनुसन्धान गरेर प्राकृतिक परिवेश र वेशभूषा आदिलाई जस्ताको तस्तै छायाङ्कन गरी पात्रहरुलाई जीवन्त अभिनय गराएको चलचित्रलाई पनि पुरस्कारमा पार्न सके राष्ट्रिय चलचित्र पुरस्कारको पनि गरिमा बढ्ने हुन्छ । चित्रकार तथा चलचित्रका दर्शक जीवन राजोपाध्याय मुख्य पात्र राजोपाध्याय र उनकी पत्नी बन्नुभएकी मानन्धरको अभिनयमा जीवन्तता भेटिने बताउनुहुन्छ । आदिवासी जनजातिको मातृभाषामा कम लगानीमा आफ्नो सीमिततामा निर्माण भएको यो चलचित्रले यतिसम्म गर्नु राम्रो नै मान्नुपर्ने उहाँको विचार छ । “राज्यले नेपालीभाषीबाहेक अन्य मातृभाषी चलचित्रलाई पनि ध्यान दिनु राम्रो हुन्छ । नेपालीभाषीसरह तिनलाई पनि राज्यले समान व्यवहार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १२:४५
प्रतिक्रिया दिनुहोस्