१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतको पटनाबाट पाइपलाइनमा पठाइएको डिजेल अमलेखगन्ज आइपुग्यो


३ साउन, काठमाडौँ । भारतको पटनाबाट पाइपलाइनमा पठाइएको डिजेल अमलेखगन्ज आइपुगेकाे छ । भारतको पटनाबाट  डिजेल र पेट्रोल ल्याउने पाइपलाइनको परीक्षण गरेसँगै अब नेपालले पाइपलाइनबाट डिजेल ल्याउन सक्षम भएकाे छ । शुक्रबार दिउँसो पाइपलाइनमार्फत ल्याइएको डिजेल नेपालको अमलेखगन्ज डिपोमा जम्मा गरिएको आयल निगमका नायब कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी गराए।

पाइपलाइनमार्फत १ हजार किलोलिटर डिजेल अमलेखगञ्ज डिपोमा रहेको ट्यांकीमा जम्मा गरिएको हो। बिहीबार दिउँसो १२ बजे भारतको पटनाबाट पाइपमा पठाइएको तेल २४ घण्टापछि अमलेखगन्जको ट्यांकिमा झरेको हो। परिक्षण पश्चात अब तेलकाे ट्यांकी बन्द गरेर नेपाल र भारतले संयुक्त रुपमा उद्घाटन गरेसँगै व्यावसायिक रूपमा संचालनमा ल्याइने छ। उद्घाटन नेपाल भारतका प्रधानमन्त्रीबाट गराउने तयारी भइरहेको जनाइएको छ।

पाइपलाइन २४ घन्टा नै चलाएमा एकै दिन ४८ लाख लिटर डिजल नेपाल ल्याउन सकिने र यसले नेपालको माग धान्न सकिने निगमले जनाएको छ। पाइपलाइनबाट आउने डिजल भण्डारणको लागि अमलेखगञ्जमा ४१ लाख लिटर क्षमताका २ वटा र ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर क्षमताका ४ वटा अत्याधुनिक टयांकी निर्माण भइसकेका छन्।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार १५:३५