१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लुक्ला, स्याफ्रुबेँसी र जोमसोमलाई स्मार्ट सिटी बनाइने


२ साउन, काभ्रे । शहरी विकासमन्त्री मोहमद इस्तीयाक राईले स्थानीय तहलाई कुनैपनि अवस्थामा जनताको चाहनाविपरीत काम नगर्न आग्रह गर्नुभएको छ । धुलिखेलमा आयोजित नेपाल नगरपालिका सङ्घको दुईदिने रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठीमा बुधबार मन्त्री राईले स्थानीय तहले ‘सिंहदरबारको अधिकार’ भन्दै अधिकार व्यवस्थापन गर्न नसक्दा जनता आजित भएर विरोधी बन्ने काम नगर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “स्थानीय तहले कार्यसम्पादन गर्दा जनता विरोधमा जाने हुन् कि भन्ने प्रत्येक दिन सोच्नुपर्दछ ।” उहाँले स्थानीय तहले जनताको चाहनाविपरीत काम गरे देशमा ‘असहज परिस्थिति’ सिर्जना हुने दाबी गर्नुभयो ।

उहाँले हिमाली क्षेत्रसँग जोडिएका प्रदेशस्तरका ठूला तथा पर्यटकीयबस्ती लुक्ला, स्याफ्रुबेंसी, जोमसोमलाई भने स्मार्ट सिटी बनाउन शहरी विकास मन्त्रालयले अध्ययन र योजना बनाइरहेको बताउनुभयो ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सङ्घले निर्माण गर्ने रणनीतिक योजनाले देशभरका नगरपालिकामा ऐतिहासिक रुपमा प्रभावपर्ने भएकाले गहनरुपमा छलफल गरी ‘रुल मेकिङ’ गर्न सुझाव दिनुभयो । राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले चार वर्षपछि कस्तो नगरपालिका बनाउने भन्ने खाका तयार गर्न आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष अशोकुमार ब्याञ्जू श्रेष्ठले दुई दिनको कार्यशालामा आगामी चार वर्षका लागि नयाँ संविधानमा स्वायत्त स्थानीय सरकारको स्पष्ट व्यवस्थाका लागि सशक्त बहस र पैरवी गर्ने, नगर सरकार तथा सरोकारवालाको समन्वयमा शहरी शासनको प्रवद्र्धनका लागि नपा सङ्घलाई अग्रणी स्थानको रुपमा विकास गर्ने, शहरी सेवा तथा प्रवाहलाई प्रभावकारी बनाउन नगर सरकारलाई सक्षम र सवल संस्थाको रुपमा विकास गर्ने, शहरी शुसासनको सुनिश्चितताका लािग नगर सरकारलाई पारदर्शी, जवाफदेही, उत्तरदायी र समावेशी बनाउने र नेतृत्व विकास सम्बन्धी सूचना प्रवाह गर्नका लागि नपा सङ्घलाई साझामञ्चको रुपमा विकास गर्नेगरी रणनीतिक योजना तयार हुने जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार १०:१२