१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

श्रीलङ्कामा अत्यधिक गर्मीपछि उत्पन्न सुख्खाले साढे पाँच लाख मानिस प्रभावित


२ साउन, काठमाडाैँ । श्रीलङ्कामा अत्यधिक गर्मीपछि उत्पन्न सुख्खा मौसमका कारण साढे पाँच लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् । प्रकोप व्यवस्थापन केन्द्रले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पाँच लाख ६७ हजार ६६२ जना प्रभावित भएका हुन् । उनीहरू एक लाख ५९ हजार १२३ परिवारका सदस्य रहेको पनि विवरणमा उल्लेख गरिएको छ । उनीहरूलाई तत्काल स्वच्छ पिउने पानी अत्यावश्यक रहेको केन्द्रका अधिकारीहरूको भनाइ छ ।

केन्द्रका सहायक निर्देशक प्रदीप कोडिप्पीलीले सुख्खा प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीलगायतका सामग्रीहरू पठाउने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा सुख्खाका कारण कतिपय रोगहरू पनि फैलिएको छ भने मानिसको दैनिकी कष्टकर भएको छ । सुख्खाका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको र उनीहरूलाई गाह्रो भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार ०८:४९