१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टाइफाइडको प्रकोपले स्वास्थकर्मी नै थला परे


२६ असार, डाेल्पा । डोल्पामा फैलिँदै गएको टाइफाइडको प्रकोपले सर्वसाधारण मात्र होइन स्वास्थकर्मीसमेत थला परेका छन् । दैनिक टाइफाइडका बिरामीका उपचारमा लागि खटिएका एक दर्जन डाक्टर, नर्स र अन्य कर्मचारी आफैँ टाइफाइडले थलिएका छन् । प्रत्येक दिन अस्पतालमा भर्ना हुने टाइफाइडका बिरामीसँगै अस्पतालाका स्वास्थ्यकर्मीसमेत थला पर्न थालेपछि उपचार गर्ने कर्मचारीहरुको कमी हुँदै गएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत दुई जना चिकित्सकमध्ये डा भिमबहादुर बुढा बिरामी परेका छन् । त्यसैगरी परिचारिका दिलु बुढा, सिएमएम गङ्गा ओझा, अनमी पुष्पा ओली, झुमा हमाल, ल्याब असिष्टेन्ट कञ्चन रोकाया, अहेब दिलीप रोकायालगायत एक दर्जन कर्मचारी आफैँ बिरामी परेका छन् ।

टाइफाइडका कारण स्वास्थका कर्मचारी नै थला परेपछि उपचारमा समस्या भएको छ भने ओपीडी कक्ष २४ घण्टा एउटै कर्मचारीले धानेका छन् । जिल्लाका विभिन्न स्वास्थ चौकीबाट काजमा कर्मचारी खटाउनका लागि पत्राचार गरिएको डाक्टर रावलले जानकारी दिनुभयो ।

दूषित पानीका कारण रोग फैलँदै गएकाले पानी शुद्धिकरण गरेर मात्र खान चिकित्कले सुझाव दिएका छन् । टाइफाइडको प्रकोप नियन्त्रणका लागि जिल्ला उद्योग बाणिज्य सङ्घको पहलमा पानी शुद्धिकरणका लागि एक घरलाई एक महीना पुग्ने पियुस मगाएर वितरण गर्न लागेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

तीन दिनदेखि उडान नहुँदा पियुस नेपालगञ्जमा आएर थन्किएको समेत उहाँले बताउनुभयो । अन्य ठाउँभन्दा वडा नं ३ मा टाइफाइडका बिरामी धेरै भएकाले पियुस आएपछि प्रत्येक घरधुरीमा वितरण गरिने प्रजिअ केशरीले जानकारी दिनुभयो । अन्य नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ्यका कर्मचारीलाई जिल्ला अस्पतालमा काजमा खटाउनसमेत पहल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १८:०७