१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नमुना भवन ११ करोड ५३ लाखमा निर्माण


२५ असार, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूलीमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय रु ११ करोड ५३ लाखको लागतमा नमूना विद्यालयको भवन निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण ७० वर्ष पूरानो त्रिभुवन माध्यमिक विद्यालयका पुराना भवन भत्केका थिए । नयाँ भवन निर्माण भएसँगै जीर्ण अवस्थाका भवनमा पठनपाठन गराउनुपर्ने बाध्यताबाट छुट्करा पाइएको सो विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो ।

सहायक प्रधानाध्यापक दवाडीका अनुसार त्रिवि विद्यालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रिय एकाइ तथा एशियाली विकास (एडिबी) बंैकको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको हो । सहायक प्रधानाध्यापक दवाडी भन्नुहुन्छ, “हाम्रो यस विद्यालयमा अध्यानरत विद्यार्थी एक हजार १८३ जना रहेका छन् । हाल नवःनिर्मित भवन बालमैत्री, अपाङ्गमैत्री, शान्त र सुरक्षित बनेको छ । यहाँ पढ्न आउने भाइबहिनीका लागि शैक्षिक गुणस्तरमा विद्यालयले ध्यान दिइरहेको छ ।”

विसं २००७ मा निर्मित विद्यालयले नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि छात्रावास समेत सञ्चालनमा रहेको विद्यालयले जानकारी दिएको छ । जेहेन्दार, गरीब विद्यार्थी सो छात्रवासमा राखिएको छ । छात्रवासमा अहिले २० जना विद्यार्थीलाई खाना बस्न र पढ्ने सुविधा रहेको छ । रासस

प्रकाशित मिति : २५ असार २०७६, बुधबार २१:१३