१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

स्थानीय तहमा बैंक नहुँदा समस्या 


१४ असार, । राजविराज स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारी निर्णय कार्यान्वनमा नआउँदा नागरिकलाई समस्या भएको छ । बैंक स्थापना नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । सप्तरीको तिरुहुत गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकालगायत स्थानीय तहमा बैंक नहुँदा त्यहाँका वासिन्दा सधैं सदरमुकाम राजविराज धाउनुपर्ने बाध्यता छ ।

हनुमाननगर कंकालनी नगरपालिका–२ का शिवचरण मण्डल बैंक नखुल्दा दैनिक कामकाज प्रभावित भएको बताउँछन् । ‘सामान्य कामका लागि समेत राजविराज जानु परेको छ, समयसँगै फजुल खर्च हुने गरेको छ,’ उनले भने ।

तिलाठी कोइलाडीका नीरज झा राजविराज जाँदा समेत एकै दिनमा काम नसिद्धिदा होटलमा बास बस्नु पर्ने बताउछन् । सो गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले स्थानीय तहमा बैंक नहुँदा विकास निर्माणको काम प्रभावित हुने गरेको बताए । ‘सानो रकम लिन पनि राजविराज धाउनुपर्छ,’ उनले भने ।

यस्तै तिरुहुत गाउँपालिकामा बैंक नहुँदा दैनिक कामकाजका लागि त्यहाँका वासिन्दा सदरमकाम वा कञ्चनपुर जानुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष मनोज भडखेर यादवले बताए । सानोतिनो रकम भुक्तानी लिन सदरमुकाम जानुपर्छ । विदेशबाट पठाएको रकम लिन राजविराज जानुपर्दा सर्वसाधारण हैरान छन् । घण्टौं लाइनमा बस्नुपर्छ । जिल्लामा ९ नगरपालिका तथा ९ गाउँपालिका रहेको छ । ४ स्थानीय तहमा मात्र बैंक स्थापना गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार १०:१६