Logo

जनताको जनवाद कुन चराको नाम हो ?



–सूर्य थापा

नेपालमा कम्यनिस्ट आन्दोलनको थालनी हुनुको पछाडि माओत्से तुङको नेतृत्वमा भएको चिनियाँ जनवादी क्रान्तिको नै सबैभन्दा महत्वपूर्ण प्रभाव थियो। असाधारण त्याग, बलिदान र जनसमर्थनका साथ चिनियाँ जनताको त्यस क्रान्ति गाथाले सिंगो संसार तरंगित भएको थियो। नेपालमा त्यसको प्रभाव नपर्ने कुरै भएन। खासगरी कमरेड पुष्पलालमा त्यसको गहिरो प्रभाव रहेको तथ्य उहाँको जीवनकालबाटै स्पष्ट पाउन सकिन्छ।

भारतीय स्वतन्त्रता संग्रामले दक्षिणी छिमेकी भारतबाट विश्वमा कहिल्यै नअस्ताउने सूर्य अस्ताइसकेको थियो। अर्थात्, गान्धीको नेतृत्वमा भएको अहिंसात्मक सत्याग्रह र भारतीय स्वतन्त्रता संग्रामले नेपाल र नेपालीलाई जहानियाँ राणातन्त्रविरुद्ध संघर्षमा अघि बढ्न प्रेरणा दिइरहेको थियो। फलतः नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको स्थापना युगीन आवश्यकताका परिघटनाजस्तै हुन पुगे। र, २००५ मा नेपाली कांग्रेस र २००६ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भए।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ।

पार्टी स्थापनाको ३२ वर्षअघि सोभियत संघमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्तिको माध्यमबाट माक्र्सवादको पहिलो सफल प्रयोग गरिएको थियो। त्यसले सिर्जना गरेको ऊर्जा र ज्वारले सिंगो युरोपका राष्ट्रभरि जबर्जस्त क्रान्तिकारी परिवेश तयार हुनुका साथै थुप्रै देश साम्राज्यवादको शोषण, दमन, अधीन, उपनिवेश र दासताबाट मुक्त हुन पुगेका थिए।

पहिलो (सन् १९१४–१९१८) र दोस्रो (सन् १९४२–१९४५) का विश्वयुद्धहरूले सिंगो संसारमा नयाँ परिवेश सिर्जना गरे। साम्राज्यवाद र त्यसले थोपरेका उपनिवेशहरू एकपछि अर्को ढल्न थाले। सोभियत रूसको नयाँ परिवर्तनले भारतीय कम्युनिस्ट आन्दोलन असाध्यै निकटरूपमा प्रभावित थियो। यद्यपि स्वतन्त्रता संग्राममा निर्वाह गरेको गलत भूमिकाको नकारात्मक प्रभाव जनमानसमा भिन्नै रूपमा छँदै थियो। त्यसको मार भारतीय कम्युनिस्ट आन्दोलनले आजपर्यन्त भोगिरहेको छ।

नेपालमा प्रचण्ड गोरखा, प्रजापरिषद्, विराटनगर मजदुर आन्दोलन र जयन्तु संस्कृतम् आन्दोलनले पैदा गरेको राप, ताप, बलिदान र संघर्षले चेतनशील तप्कामा जुर्मुराहट महसुस भइरहेको थियो। खासगरी प्रजापरिषद्ले नेतृत्व गरेको पर्चा, काण्ड र त्यसपछि भएको दमन एवम् चार अमर योद्धाहरूले गरेको बलिदानद्वारा काठमाडौं उपत्यका उद्वेलित र जागृत थियो। अमर सहिद गंगालालका आफ्नै माइलो भाइ हुनुका कारणले यसको प्रत्यक्ष भुक्तभोगी कमरेड पुष्पलाल हुनुहुन्थ्यो। उहाँ नेपाल प्रजातन्त्र संघ, नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिव हुँदै उपत्यका र बनारसमा राजनीतिक संघ संगठनको सञ्चालनमा अनुभवी बन्दै अघि बढ्नुभएको थियो।

खासमा त्यसबखत कांग्रेस खेमाभित्र डा. डिल्लीरमण रेग्मी र विश्वेश्वरप्रसाद कोइरालाबीच व्यक्तित्वको टक्कर र झैझगडा चलिरहेको थियो। त्यसलाई नजिकबाट अनुभूति गर्नुभएका पुष्पलाल तत्कालीन अन्तर्राष्ट्रिय परिवेश–सोभियत संघ, चीन र भारतलगायतका देश र विश्वव्यापी रूपमा भइरहेका नवजागरण, मुक्ति आन्दोलन, परिवर्तन र क्रान्तिका उर्लंदा भेल र माहोलबाट प्रभावित भएरै नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्न अग्रसर हुनुभयो।

फलस्वरूप सन् १९४९ अप्रिल २२, तदनुरूप १० वैशाख २००६ मा भारतको पुरानो राजधानी कोलकातास्थित २८ नवीन सरकार लेन श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भयो। पुष्पलालको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू हुनुहुन्थ्यो। त्यसकै निरन्तरताका रूपमा विभाजन हुँदाहुँदै आजको नेपाली कम्युनिस्ट आन्दोलनरत रहेको छ।

जनवाद/समाजवादका बहुरूप

नेपालमा पुँजीवादी समाजवादी खेमाको अग्रणी विचारक बीपी कोइराला र समाजवादी/जनवादी खेमाको अग्रणी विचारक पुष्पलाल श्रेष्ठ नै रहेको तथ्य इतिहाससिद्ध छ। तर नेपालको कम्युनिस्ट आन्दोलन सबभन्दा बढी चिनियाँ कम्युनिस्ट आन्दोलनबाट प्रभावित रहेको देख्न सकिन्छ।

सुरुवातकै कार्यक्रममा माओ त्से तुङको नौलो जनवादको सीधा प्रभाव थियो, जसलाई २०२५ को तेस्रो सम्मेलनपछि पुष्पलालले नयाँ जनवादका रूपमा अघि बढाउनुभयो। रूसको राष्ट्रिय प्रजातन्त्रको सीधै प्रभाव २०१९ को तेस्रो महाधिवेशनपछि तुल्सीलाल, रायमाझी, मानन्धर र वर्मा समूहहरूका नीति र कार्यक्रमले देखाउँछन्।

२०२८ को झापा विद्रोह र २०३१ को चौथो महाधिवेशन धारले मोहनविक्रम सिह, निर्मल लामा, भक्तबहादुर श्रेष्ठ, मोहन वैद्य, पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, रामसिह श्रीष र नेत्रविक्रम चन्द ‘विप्लव’ सम्मले नौलो जनवाद वा त्यसकै इर्दगिर्दमा टेकेर प्रचण्डपथ वा एक्काइसौं शताब्दीको जनवाद अघि सारेको इतिहास रहेको छ।

मदन भण्डारीका संकलित रचनाहरू ९ भोल्युम- सम्पादक सूर्य थापा ।

नेपाली कम्युनिस्ट आन्दोलनलाई आफ्नै मौलिक विशेषतामा उभ्याएर माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्न अग्रसरता लिने नेतृत्वदायी भूमिका मदन भण्डारीले निर्वाह गर्नुभएको स्पष्ट छ। अन्धानुकरण र नक्कल अर्थात् जडसूत्रवाद र विसर्जनवादबाट मुक्त भएर वैचारिक कार्यदिशाको निर्माण उहाँले नै गर्नुभयो, जो जनताको बहुदलीय जनवादका रूपमा स्थापित र लोकप्रिय रहेको छ। यसरी विगत ७० वर्षको अवधिमा नेपालमा देखिएका जनवाद/समाजवादका बहुरूप यस्तो रहेको पाउन सकिन्छः

१. नौलो जनवाद २. राष्ट्रिय प्रजातन्त्र ३. नयाँ जनवाद ४. देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार ५. बोधिसत्व जनवाद ६. जनताको बहुदलीय जनवाद ७. परिमार्जित नौलो जनवाद ८. वातावरणीय जनवाद ९. सामाजिक जनवाद १०. राष्ट्रिय जनवाद ११. प्रचण्डपथ १२. एक्काइसौं शताब्दीको जनवाद १३. प्रजातान्त्रिक समाजवाद १४. वैज्ञानिक समाजवाद र १५. जनताको जनवाद।

जबजका थप १४ विशेषता

नौलो वा नयाँ जनवाद अथवा जनताको बहुदलीय जनवाद स्वयंमा पुँजीवादी जनवादी कार्यक्रम र कार्यदिशा रहेको यथार्थ अवगत नै छ। जननेता मदन भण्डारीले सोभियत संघ र पूर्वीयुरोपमा समाजवादी सत्ताको विघटन भएर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको परिवेशमा नयाँ चिन्तन र संश्लेषण गरेर जबजको प्रतिपादन गर्नुभयो।

खासमा कम्युनिस्टहरू अधिनायकवादी हुन्छन् भनी थोपरिएको आलोचना चिर्ने गरी सोभियत र चिनियाँ ढर्राको कार्यदिशा र विचार पद्धतिबाट भिन्न नेपालको आफ्नै इतिहास र विशेषतामा आधारित भइकन उहाँले साहस, सिर्जनशीलता र जोखिमसमेत उठाएर नयाँ कार्यदिशा, कार्यक्रम र विचार प्रस्तुत गर्नुभएकौ विदितै छ। उहाँले जबजमा थप गरेका विशेषतालाई सोझो वा घुमाउरो ढंगले सबैले स्विकार्नु परेको छ।

लेखकः सूर्य थापा ।

१. संविधानको सर्वोच्चता, २. बहुलवादी खुला समाज, ३. शक्ति पृथकीकरणको सिद्धान्त, ४. मानवअधिकारको रक्षा, ५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली, ६. अवधिक निर्वाचन, ७. बहुमतको सरकार र अल्पमतको विपक्ष, ८. कानुनको शासन, ९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, १०. विदेशी पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग, ११. क्षतिपूर्ति, १२. विदेश नीति, १३. नेतृत्व र अधिनायकत्व, १४. जनताको बहुदलीय जनवाद।

जनताको बहुदलीय जनवादको प्रतिपादन र विकासपश्चात् नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नै सिर्जनशील धरातलमा उभिएको वैचारिक हतियार प्राप्त गरेको यथार्थ स्पष्टै छ। यसकै मार्गदर्शनमा नेपाल कमयुनिस्ट पार्टी (नेकपा) ले पछिल्लोपटक झण्डै दुईतिहाइ बहुमत हासिल गरेर सरकार सञ्चालन गरिरहेको छ।

‘जनताको जनवाद’ अन्तर्र्राष्ट्रिय अवधारणा र मान्यताका हिसाबले चिनियाँ नौलो जनवाद वा नेपालको सन्दर्भमा २०४९ मा मोहनचन्द्र अधिकारीले नेतृत्व गर्नुभएको नौलो जनवाद वा मोहनविक्रम सिंह, मोहन वैद्य, प्रचण्ड र नारायणकाजी श्रेष्ठले अवलम्बन गरेकै मान्यता हो। यसले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने नभएर सर्वहारा अधिनायकत्वको मान्यता राख्छ र नागरिक स्वतन्त्रताको नियन्त्रण गर्छ। र, पार्टीलाई अधिनायकवादी संयन्त्रमा परिणत गर्छ। बाँचुञ्जेल एउटै व्यक्तिको नेतृत्वको अपरिहार्यतामा यसको जोड रहेको अभ्यास सर्वत्र देख्न सकिन्छ। ७० वर्ष उमेर हद र दुई अवधि कार्यकारी नेतृत्वको प्रावधान विधानबाट हटाउने र त्यतातिर जाने गोरेटो खन्ने कार्य त भएसकेकै छ।

दस्ताबेजबिनै जनताको जनवाद ?

उल्लिखितमध्ये १४ थरी जनवाद/समाजवाद पढ्न, बुझ्न र व्याख्या गर्न दस्ताबेज उपलब्ध छन्। सही वा गलत दस्ताबेजका आधारमा बहस र छलफल गरी दृष्टिकोण बनाउन सकिन्छ।

रोल नं १५ वाला जनताको जनवाद–पार्टी एकीकरणको संयुक्त वक्तव्यमार्फत ‘दुई शब्द’ को अस्तित्वमा पुछ्रेतारासरि झुल्किएको थियो। त्यसको न अवधारणा छ, न परिकल्पना नै ! दस्ताबेज त छँदै छैन। यो कुन चरीको नाम हो ? कसैलाई थाहा छैन। यो केवल इगो र जनताको बहुदलीय जनवादप्रतिको द्वेषपूर्ण, नकारात्मक र पूर्वाग्रही दृष्टिदोषको परिणाम हो।

अन्यथा ‘माछा मीठा काँडा तीता’ भनेजस्तो जबजको मार्गदर्शनमा चुनाव लड्ने र जित्ने, सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने, सरकारले जनताका पक्षमा काम गरेर प्रतिस्पर्धामा श्रेष्ठ बन्दै समाजवादउन्मुख कार्यक्रम लागू गर्ने निष्कर्ष स्वीकार गर्ने, तर जबज भन्न कब्जियत भएजस्तो रबैया किन प्रदर्शन गर्ने ? मदन भण्डारीबाहेक नेपालमा १२/२७ थरी कुन जनवादले आज पार्टीले अवलम्बन गरेको बाटो देखाएको थियो र छ ?

जेसुकै होस्, त्यतातिर तर्क र बहस नगरौं ! तर चार पानाको सही लघु आकारमै किन नहोस्, नेतृत्वले यो हो जनताको जनवाद भनेर रूप, सार र आकार प्रस्तुत गर्नुपर्दैन ? एकताको १४ महिनासम्म कोरल्दा पनि चल्ला नहुने यो कस्तो बतासे फुल हो ? हामी निराकार अन्धविश्वासका शोकमग्न यात्री हौं र ?

राजनीतिक प्रतिवेदन त जनताको जनवाद होइन। दुई शब्द (जनताको जनवाद) मानिदिने हो कि यसको दस्ताबेजमा छलफल, सहमति र संस्थागत समझदारी चाहिन्छ ? १४ महिनासम्म कुर्दा पनि दस्ताबेज ल्याउने कुनै छाँटकाँट देखिएन। अनि निराकार जनताको जनवादको वायुपंखी घोडा चढ्ने भनेर पुगिन्छ कहाँ ? यस्तो अन्योलको भुमरीमा पार्टीलाई फसाउनु गलत हो। यो सब के हो ? किन यसको रटान ? अस्तित्वमै नभएको बुटीलाई पार्टीको फहराइरहेको झण्डा स्वीकार गरेर बुलन्द गर्न कसरी सम्भव होला ? यतिबेला दुवैजना पार्टी अध्यक्षसमक्ष विनम्रतापूर्वक जिज्ञासा राख्नैपर्छ :

खाली कागजमा जनताको जनवादको मसी भर्न नसक्ने हो भने यसले स्पष्ट दिशानिर्देश पनि कदापि गर्न सम्भव छैन। र, वैचारिक रूपमा अन्योलग्रस्त वा मनोगत बनेर समाज र राष्ट्रको नेतृत्व गरिरहन सम्भव नहुने निश्चित छ। अझ ‘जबज’ र ‘एसज’ का राम्रा–राम्रा पक्ष समेटेर जनताको जनवाद बनाउने भनेको ‘टालाटुली बटुली, कति राम्रो पुतली’ भनेजस्तो होला कि भन्ने आशा गर्न त सकिएला, तर सारसंग्रहवादमा फसेर दिशाहीन बन्ने खतरासमेत उत्तिकै विद्यमान छ। तैपनि महाधिवेशन आयोजनासम्मको अवधिका लागि संक्रमणकालीन वा अन्तरिम विचार हो भनेर पनि दस्ताबेजबेगर यो कसरी स्वीकार्य र मान्य हुन्छ ? प्रश्न गम्भीर रूपमा उठिरहेको छ।

मदन भण्डारी ।

निष्कर्षमा अनुरोध

एकीकृत नयाँ पार्टीका नेता–कार्यकर्ताले आफ्नै इतिहासका तमाम सन्दर्भ सामग्री खुला र जिज्ञासु दिमागले पढेर निचोडमा पुग्न रुचि र ध्यान दिएको स्थिति विद्यमान पाइँदैन। दुवैतर्फ व्यापक पूर्वाग्रह कायमै छ। तसर्थ :

१. पूर्ववर्ती नेकपा (एमाले) हरूले प्रचण्डपथ र एक्काइसौं शताब्दीमा जनवाद पढेर छलफल चलाउन तम्तयार होऊ !

२. पूर्ववर्ती नेकपा (माओवादी केन्द्र) हरूले पहिले जनताको बहुदलीय जनवाद र पार्टीको अन्तरिम विधान पढ र पूर्वाग्रह हटाउन तयार होऊ, अनि बहस गर !

पार्टीको राजनीतिक प्रतिवेदनले यस एतिहासिक परिप्रेक्ष्यलाई आत्मसात गरेर जबजको सर्वस्वीकार्य, निरन्तरता र समृद्धिको आधार प्रदान गर्न सक्नुपर्छ। यसमा समूहगत, गुटगत र व्यक्तिगत स्वार्थहरू टकराउने वा विचारको प्रश्नमा सम्झौता वा सौदाबाजी गरेर आन्दोलनलाई कमजोर, विघटन र विनाश गरिनबाट रक्षा गर्न ध्यान र जोड केन्द्रित गर्नु अपरिहार्य छ।

(केहीदिनअघि अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित थापाको लेख मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर उनैसँगको अनुमतिमा साभार गरेका हाैँ ।–सम्पादक)

प्रकाशित मिति : १४ असार २०७६, शनिबार १४:०२
प्रतिक्रिया दिनुहोस्