१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटको ककनीमा ट्रिपर घरमाथि खस्दा सुतिरहेकी एक वृद्धाको मृत्यु, दुई जना घाइते


३० जेठ, नुवाकोट । नुवाकोट जिल्ला ककनी गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । ककनी गाउँपालिका वडा नम्बर ७ को निगाले भन्ने स्थानमा बुधबार राति ११ बजे बा २ क ६३६३ नम्बरको ट्रिपर सडकबाट व्यक्तिको घरमा खसेको थियो ।

ट्रिपर घरमा खसेर त्यहाँबाट पनि धेरै तल पुगेको र घरमा सुतिरहेकी ककनी गाउँपालिका वडा नम्बर ७ कै बासिन्दा ६० वर्षीया माइली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । दुर्घटनामा ट्रिपरका चालक अमिल लामा र सहचालक जीवन लामा गम्भीर घाइते भएका छन । उनीहरूलाइ उपचारका लागि काठमाडौँ पठाइएको छ ।

दुर्घटनापछि स्थानीयले काठमाडौँ–त्रिशुली पासाङल्हामु राजमार्ग नै अबरूद्ध गरेर बहिबार दिउँसो एक बजेसम्म आन्दोलन गरेका थिए । प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा पीडित र परिवार र ट्रिपर मालिकसँग क्षतिपूर्तिको बारेमा सहमति भएपछि अहिले राजमार्ग सञ्चालनमा आएको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले दैनिकीलाई जानकारी दिए । उनले पीडितको परिवारलाई १५ लाख रूपैया क्षतिपूर्ति दिने सहमति भएको बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार १३:२७