२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडी पक्राउ


३० जेठ, दाङ । दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा यहाँका यातायात व्यवसायी मर्कामा परेको गुनासो आएपछि यसमा कडाइ गर्न थालिएको छ ।

“अहिले भारतीय गाडी दाङ आएर व्यावसायिकरूपमा यात्रु ओसारपसार गरिरहेको भन्ने गुनासो व्यापक आउन थाल्यो”, उहाँले भन्नुभयो “त्यसैले गर्दा पनि हामीले निगरानी बढाएका हौँ । दाङमा रुट परमिटविनै यात्रु बोक्दै आएको एउटा बोलेरो, चार जिपलाई नियन्त्रण लिई आवश्यक कारवाही थालिएको प्रमुख कुँवरले बताउनुभयो ।

उहाँका अनुसार ट्राफिक प्रहरी कार्यालयले रु एक÷एक हजार जरिवाना काटेर थप कारवाहीका लागि यातायात व्यवस्था कार्यालय दाङमा पठाएको छ । त्यस्ता सवारीसाधनलाई यातायात व्यवस्था कार्यालयले रु पाँच हजारसम्म जरिवाना गर्ने व्यवस्था छ । भन्सार अनुमति लिएर निश्चित प्रयोजन र निश्चित समयका लागि मात्रै नेपालमा सञ्चालन हुन पाउने प्रावधान छ ।रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहीबार ११:५१

https://srdb.com.np/