१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाँकेमा चट्याङ परेर आगजनी हुँदा ३९ घर जलेर नष्ट


२९ जेठ, बाँके । बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताउनुभयो ।यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १९:५८