१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतीय अभिनेता तथा नाटककार गिरीश कर्नाडको निधन


२७ जेठ, काठमाडाैँ । भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । गिरीशले सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । उनले आफ्नो पहिलो चलचित्रका लागि नै राष्ट्रपति गोल्डेन लोटस पुरस्कार प्राप्त गरेका थिए ।

सन् १९९० को सुरुवातमा विज्ञानमा आधारित एक टेलिभिजन कार्यक्रम उनले सञ्चालन गरे । तत्कालीन समयमा यो निकै नै रुचाइएको विज्ञान कार्यक्रम थियो । उनको अन्तिम फिल्म कन्नड भाषामा बनेको चलचित्र ‘आफ्नो देश’ थियो । जुन गएको अगष्ट २६ मा रिलिज भएको थियो । त्यस्तै बलिउडमा भने ‘टाइगर जिन्दा हे’ नै उनको अन्तिम चलचित्र थियो । सन् २०१७ मा रिलिज भएको यस चलचित्रमा उनले डाक्टर शेनोयको भूमिका निर्वाह गरेका थिए । उनका पसिद्ध कन्नड चलचित्रमा ‘तब्बालियू मगाने’, ‘ओंदानोंदु कलादाली’, ‘चेलुवी’, ‘कादु’लगायतका रहेका छन् ।

गिरीश कर्नाडले सन् १९९४ मा साहित्य अकादमी पुरस्कार, सन् १९९८ मा ज्ञानपीठ पुरस्कार, सन् १९९२ मा पद्म भूषण, तथा सन् १९९८ मा कालिदास सम्मानजस्ता पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका राजनीतिज्ञ तथा विभिन्न कलाकार तथा लेखकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार १३:२१