१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता व्यवहारमा लागू गर्न नाट्टा र हानको माग


२७ जेठ, काठमाडाैँ । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र होटल एसोसिएसन नेपाल (हान)ले  पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता व्यवहारमा लागू गर्न माग गरेका छन । नाट्टा र हानका अध्यक्ष र पूर्व अध्यक्षहरूको संयुक्त बैठकले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिएपनि व्यवहारमा लागू नभएकोले त्यसका लागि पहल गर्ने निर्णय पनि गरेका छन ।

बैठकले नेपाल पर्यटन वोर्डमा पर्यटन क्षेत्रका वास्तविक पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गराउनुपर्ने तथा वोर्डको पुर्नसंरचना गर्नुपर्ने माग पनि गरेको छ । त्यस्तै बैठकले आगामी दिनमा पर्यटन क्षेत्रका नितिगत विषयवस्तुहरुमा सुधारका लागि नाट्टाका पूर्व अध्यक्ष परिषद्का संयोजक आरआर पाण्डे, नाट्टा अध्यक्ष सिएन पाण्डे र हान पूर्व अध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्य र हान अध्यक्ष सिर्जना राणा सम्मिलित कार्यदल समेत गठन गरेको छ ।

कार्यदलले भिजिट नेपाल २०२० को सफलताका निम्ति सरकारसँग सहकार्य गरेर काम गर्ने र त्यसका निम्ति एमअोयु समेत बनाउने नाट्टाका अध्यक्ष सिएन पाण्डेले दैनिकीलाई जानकारी दिए । अागामी दिनमा दुबै संस्थाले पर्यटनका क्षेत्रमा काम गर्दा सहकार्यलाई अझ मजबुद बनाउने संकल्प समेत गरेका छन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार १२:५५