१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

संखुवासभाका मिङ्माले कम समयमा सगरमाथा चढेर राखे नयाँ कीर्तिमान


२१ जेठ, काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ घर भएका मिङ्मा दोर्ची शेर्पाले सहयोगीविना सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन् । शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।

यसअघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ कीर्तिमानधारी शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ-नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि कीर्तिमान कायम गर्ने इच्छा जागेको बताए । उनले नेपालको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सरकारलाई सुझावसमेत दिए ।

३२ वर्षीय शेर्पाले सगरमाथाको ५ पटकसम्म सफल आरोहण गरिसकेका छन् । ल्होत्से, मकालु, मनास्लु हिमाल ३-३ पटक चढिसकेका शेर्पाले केटु, धवलागिरी र आमादब्लाम हिमाल २-२ पटक सफल आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार १३:१४