Logo

कतिपय बौद्धिक भनिने व्यक्तिले केपी ओलीको विरोध गर्न कतै स्थायी जागिर नै खाएका छन



–गोविन्द पोखरेल

नेपाली जनताले नेताहरूप्रति उच्च विश्वास जाहेर गरेका छन् । यो विश्वास उत्तेजना वा भावुकताको भुमरीमा परेर गरेको होइन । नेताहरूको अटुट लगन, त्याग र ब्यवहार हेरेरै जनताले विश्वास गरेका हुन । अहिलेको सरकारमा रहेका नेताहरू पनि जनविश्वासको जगमा उभिएर, जनताको मतबाट निर्वाचित भएर त्यस ठाउँमा पुगेका हुन । कसैले टपक्क टिपेर थुपुक्क राखिदिएको होइन । २०६२–६३ को जनआन्दोलनले ब्यवस्था परिवर्तन ग¥यो, गणतन्त्र स्थापना भयो, त्यसपछि जनतामा अथाह चाहनाको सागर उर्लियो । तर, गणतन्त्र प्राप्ति पछि पनि सरकार ढाल्ने र नयाँ सरकार बन्ने निरन्तरता रोकिएन । जसले गर्दा जनता निराश हुन थाले, नेताहरू प्रतिको विश्वास डगमगाउन थाल्यो ।

विस वर्षसम्म स्थानीय निकायको निर्वाचन हुन सकेन, पहिलो संविधानसभाले संविधान दिन सकेन, मुलुक झन् दुर्गतितिर जाँदै थियोे । देशी विदेशी शक्ति संविधान जारी हुन नदिन प्रयासरत थिए । तथापि यस्तै बेलामा संविधान जारी भयो, स्थानीय निकाय, प्रदेश र संघीय निर्वाचन सम्पन्न भयो । बल्ल जनताले स्थिर सरकारका लागि नेकपालाई बहुमत दिएर पठाए । र, वर्तमान सरकार जनताको सरकार भएकाले अहिले जनअपेक्षा अनुरुप काम गर्न थाल्दै छ ।

तर, वषैैंदेखि चुलिएको जनचाहनालाई संबोधन गर्न समय लाग्नु स्वभाविकै हो । हुन पनि भत्किएको सवृद्धिको बाटो, बिग्रिएका संरचना, मौलाएको अराजकता र फस्टाएको भ्रष्टाचारका कारण कतिपय काममा यो सरकार अत्यन्तै लोसे देखिन्छ । तर, आत्तिइ हाल्नु पर्ने अवस्था भने छैन ।

–गोविन्द पोखरेल

अहिले यो सरकारलाई असफल बनाउन चारैतिरबाट आक्रमण भई रहेको छ । “के गर्दा राम्रो हुन्छ” भन्ने विषयमा कसैले सल्लाह सुझाव दिएको देखिदैन । बडा ननिका शब्दहरू छानेर सरकार र यसका सञ्चालकहरूलाई अमर्यादित ढंगले खुइल्याउने काम भने फस्टाएको छ । हिजोआज कसैलाई प्रधानमन्त्रीको अनुहार, कसैलाई बोली, कसैलाई हिडाई र कसैलाई लगाई मन परेको छैन । कसैकसैलाई त प्रधानमन्त्रीको सासै गन्हाउँछ । कसैलाई मन्त्री बोलेको सुन्दा ज्वोरो आउँछ । अनि कोही बौद्धिक भनिने ब्यक्ति झन्डावाल गाडी देख्ने बित्तिकै आफ्नो कुहिगन्धे डकार फ्याँक्छ “हेर हेर भुक्के चप्पल लगाउनेको रवाफ” । अझ च्याँठ्ठिएर भन्छ “यस्ताले कसरी राष्ट्रको विकास गर्छ ? देख्नु भयो यिनीहरूको ताल” ।

लाग्छ देश दुनियाँको ठेक्का यिनै तथाकथित बौद्धिकले पाएका छन् । कोही केपी शर्मा ओलीको राजनीतिमा कुनै लगाव नभएको र नेपालमा भएका परिवर्तनकारी आन्दोलनमा उनको कुनै भूमिका नरहेको ठोकुवा गर्छन् । परिवर्तिनका लागि ओलीले गरेको संघर्ष, कलिलो उमेरदेखि झण्डै बुढो हुनजेलसम्म भोगेको कठोर कारावासको यातना र संघर्षमै वितेको ओलीको इतिहास पटक्कै सम्झन चाँहदैनन् । देशका लागि वरको सिन्को पर नसारेका ब्यक्तिहरु नै यस्तो आरोप लगाउन बढी सक्रिय भएको देख्दा झन् उदेक लाग्छ ।

सरकारको नेतृत्व गरिरहेका ब्यक्तिबाट कमीकमजोरी हुदैँ हुन्न भन्न खोजेको भने होइन । काम गर्नेबाटै हो कमीकमजोरी हुने । कामै नगर्नेबाट केही हुँदैन । भन्न खोजेको के हो भने कुन काम गर्दा कहाँ गल्ती भयो त्यसलाई औंल्याउने र सँच्याउन लगाउने दायित्व सबैको हो । तर, कुनैलाई ब्यक्ति, पार्टी, हिडाई वा बोलाई मन नपरेकै आधारमा सरकारले गरेका र गर्न खोजेका राम्रा काम पनि मन पर्दैन भने त्यसको ओखती त के होला र खै !

बोल्ने शैली र अनुहार मन नपर्दैमा उसले गरेका सबै काम कामै नलाग्ने हुन्छन् भन्ने मान्यता राख्ने हो भने कसैले काम नगरे भयो । लोकतन्त्रमा मजाले विरोध गर्न पाइन्छ । विरोध गर्नु पनि पर्छ, यदि गल्ती औंल्याइएको छ भने विरोधी आवाजको कदर गर्दै सरकारले गल्ती सच्याउनु पर्छ । विरोधका लागि मात्र विरोध हो भने त्यसको औषधी भनेको ढाँटको निम्तो खाइपत्याउन मात्र हो ।

अब अहिलेको बजेटमा विरोध गर्ने बुँदाहरू छैनन् कि कसो, एकथरी भन्दैछन् “कार्यन्वयन नै हुँदैन”, अर्काथरी भन्दैछन् “कनिका छरे जस्तो” र तेस्रो खाले भन्दैछन् “दाताले दिन्छ भनेर तयार गरेको बजेट, दिएन भने के गर्छ ?” सार्वजनिक खपतका लागि गरिएका यस खालका तर्कले कुनै अर्थ राख्दैन । बजेटले अपेक्षित उद्देश्य पूरा गर्दैन भने त्यो चाहिँ घातक हुन जान्छ । र त्यस्ता विषय भने सरकारले सच्याउनै पर्छ ।

बजेटको मुल पाटो बुझ्नेहरूले विश्लेषण सहितका आफ्ना धारणाहरू राख्ने हो भने सर्वसाधारणले पनि जान्ने मौका पाउँछन् । गल्ती छ भने सरकारले पनि संशोधन गर्न सक्छ र गर्नुपर्छ । प्रतिपक्ष दल र विदेशको बडेमानका विश्वविद्यालयमा पिएचडी गरेर आएका केही अर्थशास्त्री बाहेक सर्वसाधारणले बुझ्ने बजेट आएको भनेर धेरैले प्रशंसा गरेका छन् ।

हाम्रो जस्तो मुलुकमा राजनीतिक टिकाटिप्पणी र थोरबहुत ब्याख्या विश्लेषण गर्ने ब्यक्ति प्रसस्तै भेटिन्छन् । अरु चिज नपुगे पनि राजनीतिको खपत भने शहरदेखि दुर्गम क्षेत्रका कुनाकाप्चासम्म भएको छ । एक प्रकारले भन्ने हो भने जनताले सचेत भएर निर्णय गरेका छन् । त्यही निर्णय अनुसार नै यो सरकार बनेको हो । अहिले साह्रै मिहिन पाराले वर्तमान सरकारलाई निरंकुश बनेको, तानाशाह बन्दै गएको, एकलौटी शासन गरेको, छाडातन्त्र लादेको, कानूनी राज्य स्थापना गर्न नसकेको, भ्रष्टाचार ह्वात्तै बढेको, विकासका काम ठप्प पारेको जस्ता विभिन्न खाले आरोप लगाइएको छ ।

वास्तवमा यो आरोप प्रतिपक्षले लगाउनुलाई अस्वभाविक मान्नु हुन्न । यो देशमा प्रतिपक्षले सत्ता पक्षलाई पुष्टि हुने आरोप मात्र लगाउने चलन बसेकै छैन । र, सत्ता पक्षले पनि प्रतिपक्षले राम्रो मनसायले दिएको सुझाव पनि मान्ने गरेको विगत छैन । केही बौद्धिक भनिने व्यक्तिहरु छन् जो केपी शर्मा ओलीको निरन्तर विरोध गर्नका लागि कतै स्थायी जागिर खान्छन् । उनीहरु गानो जाने गरी सरकारलाई त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारे हात लगाएर सरापी रहेका हुन्छन् । प्रतिपक्ष वा सराप्नका लागि नियुक्त जागिरे बौद्धिक मात्र होइन कतिपय आफ्नै पार्टीका नेताहरु समेत कन्दनी कसेर ओलीको विरुद्धमा उत्रिएका छन् ।

यो सरकारले सबै बिगारो, भताभुङ्ग पारो भन्दै सर्वसाधारणलाई केही समय भ्रममा राख्न सक्ने बहादुरहरू कतिपय समयमा समाजमा जन्मन्छन र केही समयपछि समाप्त हुन्छन् । समाजमा कहिले उग्रता, कहिले निराशा, कहिले उत्साह र कहिले गतिशीलता पनपिनु अस्वभाविक होइन । तर, उग्रता र निराशालाई मलजल गर्ने अनि उत्साह र गतिशीलतालाई निमोठी दिने गतिविधि चाहिँ घातक हो । यस्तो गतिविधिमा नकारात्मक सोचले केही समय समाजलाई समेत दिग्भ्रमित राख्छ । अहिले नेपालमा यही खालको अभ्यास निरन्तर भइरहेको छ । जुन घातक छ । सरकारलाई घच्घच्याउनु पर्छ । नराम्रो काम गर्नबाट रोक्नु पर्छ । तर, व्यक्ति वा व्यक्तिको शैली मन परेन भन्दैमा कुनै पनि व्यक्तिलाई व्यक्तिगत लान्छना लगाउनु भने विल्कुलै मनासिव होइन ।

लेखकको अनुमतिमा परिसंवाद डट कमबाट साभार

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार ०८:४८
प्रतिक्रिया दिनुहोस्